नरकलाई ख्याल ठट्टा नसम्झनु

“नरक” साँच्चिकै छ भनेर जानेर पनि कसैले बारम्बार पाप गरिबस्छ भने त्यो जस्तो भयानक डरलाग्दो कुरा संसारमा अर्को कुनै छैन । आज विश्वमा अनगिन्ती आत्माहरू नाष्टिकतावादको भुमरीभित्र परेका छन् जसले कुनै ईश्वरको अस्तित्व स्वीकार्दैनन् । ईश्वर छँदै छैन भन्छन् र स्वर्ग र नरकको विषयमा पनि आफूलाई अनभिज्ञताको गहिरो खाड़लमै ढकेल्छन् ।

आज विश्वमा अभ्यासरत ईसाई लगाएत विभिन्न धर्महरूले वास्तवमा नरक र स्वर्ग दुवैको पूर्ण अस्तित्व स्वीकारेका छन् , तर ख्यालठट्टामा मानिसहरूले यसो भन्दैछन् : “नरक कसले देखेको छ र ?” पवित्र धर्मशास्त्र बाइबलमा स्पष्ट रुपमा बताइएको छ कि, “येशू ख्रीष्टको रगतले धोइएर मात्र मानिस नरकबाट बाँच्न सक्छ अर्थात् ऊ अनन्तको स्वर्गीय देशमा जान सक्छ । जब हामी ख्रीष्ट येशूमाथि विस्वास गर्छौं र पश्चाताप (आफ्ना सारा पापहरू स्वीकार्ने र त्यागी पनि दिने) गर्छौं तब मात्र हामीलाई ख्रीष्टको रगतद्वारा जीवन मिल्छ ।

“नरकमा त न कीराहरू मर्दछन्, न आगो नै निभ्दछ ।” मर्कूस ९:४४, ४६, ४८

लौ त एकपटक कल्पना गरौं कि त्यो कस्तो ठाउँ होला जहाँ, आगो दन्किरहेको छ तापनि कहिल्यै कीराहरू मर्दैनन् । मानौं कि, एउटा ठूलो समुद्र छ त्यो समुद्रभित्र असंख्य माछाहरू र गोहीहरू छन् र ती कहिल्यै मर्दैनन् । समुद्रको पानीलाई लाल आगोको लेदो र भित्रका माछा र गोहीहरूलाई कीराहरूको रुपमा कल्पना गरौं ! नरकको एक दृश्य !

नरकको तापक्रम यति उच्च छ कि त्यहाँको तापक्रमको कुनै सीमा नै छैन । नरकको तापक्रम नाप्ने उपकरण मानिसले बनाउन सक्दैन जहाँ फलाम जस्ता कडा धातुहरू पनि पग्लेर क्षणभरमै धुँवा भै उडिजान्छ । फलाम पग्लिएको जस्तो लेदोभित्र कोही कसैलाई नाङ्गो शरीरमा फालियो भने त्यहाँ के हालत होला ? औंसीको रात्री अन्धकार भन्दा पनि निष्पत्त अंधकारभित्र अनन्तसम्मै बस्नुपर्दा कस्तो होला जो सुसमाचार सुन्न नै नपाएर मर्दछन् ? त्यहाँ कस्तो होला जहाँ अरबौं मानिसहरू एकसाथ आफूले सकेसम्म चर्को स्वरले तीब्र पीड़ा र जलन सहन नसकी चिच्याउँछन् ?

आदरणिय प्रियजनहरू हो,
मृत्युपछि कि त हामी सीधै स्वर्गमै जानुपर्छ कि त सीधै नरकमा जानुपर्छ । बीचमा झुण्डिने र लुक्ने ठाउँ कतै छैन । यसर्थ हामी अब पाप गर्न छोडौं र आ-आफ्ना मार्गहरू सुधारौं !

“येशूले तिनलाई भन्नुभयो, “बाटो, सत्य र जीवन म नै हुँ… ।” यूहन्ना १४:६

Facebook Comments