ईसाई भाइ-बहिनीहरूलाई पत्र

प्रभुमा अति नै प्रिय भाइ-बहिनीहरूमा ख्रीष्टीय प्रेम, अभिवादन साथै जयमसीह !

विश्वको मानचित्र भित्र जहिं रहेतापनि परमप्रभु परमेश्वरको अनुग्रह र कृपाले आजसम्म म आराम छु साथै तपाईँहरू पनि आरामै हुनुहुन्छ भन्ने मेरो ख्रीष्ट प्रभुमा विश्वास छ । हेर्नुहोस् न ! हामी एउटै घरका परिवारहरू भए तापनि समय र दूरीले आफ्नो पनि विरानो जस्तो बनाईरहेछ । ख्रीष्ट प्रभुको अनुग्रह र प्रेम हामीमाथि यति धेरै नहुँदो हो त हामी पहिल्यै विलाइसक्ने थियौं जसरी मरुभूमिमा एउटा कोमल बिरुवाको पालुवा विलाइजान्छ । तपाईँहरू सबैजनालाई मैले धेरै-धेरै नै याद गरिरहेको छु र मेरो एउटा उत्कट इच्छा पनि छ कि, तपाईँहरू हरेकसँग भेटुँ र संगति र प्रार्थनामा समय बिताऊँ !

प्रिय भाइ-बहिनीहरू हो,
जीवनको कुनै कालखण्डमा, बाध्यता यति ठूलो भैदिंदो रहेछ जहाँ कि बाध्यताले नै मानिसलाई दास बनाउँदो रहेछ । एउटा झुपडीमा धिपधिप बलेको बत्तीले एक्कासी आँधीहुरीहरूको सामना गर्नुपर्ने रहेछ । एउटा झोला काँधमा बोकी जागिरको खोजीमा (मन नमीठो भएपनि) बिदाइको हात हल्लाउनु कस्तो विवश ! कतिजना स्वदेशमै त कतिजना परदेशमा । हाम्रा सबैका जीवन भोगाइ र आत्मकथाहरू कति उदेकका छन् । घरमा परिवार यसरी आशा गरि पर्खिबसेका हुन्छन् जसरी एउटा चरीको बचेराहरू गुँड़मा आमाले आहारहरू छिट्टै खोजेर ल्याइदेलान् र खाऔंला भनी पर्खिरहन्छन् ! जीवनमा कतिपटक भोकै त कतिपटक हृदयका वेदनाहरू र गहिरा चोटहरूले आँखा रसाएर, सुक्न धेरै समय लाग्ने गरि नै सिरानी भिजाइदिंदो रहेछ । बाध्यताहरूलाई निचोर्दै र कति रहरहरूलाई कुल्चदै जीवन जिउनुपर्छ ।

तपाईँहरू जहिं र जस्तो अवस्था र परिस्थितिहरूमा रहे तापनि पूरा हिम्मतसाथ र विना लाज ख्रीष्टमा बाँकी जीवन जिउन हौसला र उत्साह दिन्छु ।

जीवनको प्यासले ओंठहरू कलेंटी पारिरहेका भाइ-बहिनीहरू हो, आज हामीलाई पिताले बोलाएर यसो भन्दैहुनुहुन्छ, “मेरा छोराछोरीहरू हो, मकहाँ आओ, म तिमीहरूसँग भेट्न चाहन्छु ।” त्यसैले छिटो गरौं र हामी हिड्ने बाटोका तगारोहरूलाई पार गर्दै उहाँलाई भेट्न जाऔ ।”

अन्तमा, भाइ-बहिनीहरू हो,
ईसाई जीवनको एउटा उदाहरणीय नमूनाको फूल तपाईंहरूको जीवनमा लिली फूलझैं फक्रिएर फुलोस् र परमेश्वर पिता स्वर्गमा खुशीले मुस्कुराउनुभएको होस् । प्रिय भाइ-बहिनीहरू हो, अहिलेलाई यति मै पत्रको अन्त्य गर्दछु । परमप्रभु परमेश्वरको अनुग्रह तपाईँ हामी सबैसँग होस् , आमिन ।

-जयमसीह !

Facebook Comments