क्यारोल

येशु ख्रिष्ट जन्मनुभएको दिनको स्मरण गर्दै मनाइने “ख्रिष्टमस” भन्ने बित्तिकै हर्ष, उल्लास, रमझम, झिलिमिलिका कुराहरु हाम्रो मानसपटलमा आउने गर्दछन् । यसका साथै गीत, संगीत र नाचगान त झन् छुटाउनै नसकिने कुराहरु भए । ख्रिष्टमस आउन केहि महिना अघिदेखि नै थुप्रै ख्रिष्टमसका भजनहरु युटुबमा प्रशस्तै आउन थालिसकेका हामी देख्न सक्छौं । हरेक वर्ष इसाई गायक गायिकाहरु ख्रिष्टमसका भजनहरु रचना गर्नमा व्यस्त हुने गरेका छन् । हिजोआज क्यारोल गाउने कुराले पनि ख्रिष्टमसको समयमा ठुलै स्थान लिन थालेको हामि देख्दछौ । “क्यारोल” भन्नाले प्रशंसा वा आन्नदको गीत वा नाच हो जुन विशेष गरि ख्रिष्टमसमा गर्ने गरिन्छ । इसाईहरुमाझ क्यारोल गाउने प्रचलन शुरु हुनुभन्दा हजारौ वर्ष अघि नै युरोपमा क्यारोल गाउने प्रचलन थियो । ती क्यारोलहरु मण्डलीमा गाईने गरिएका आराधनाका गीतहरुसंग सम्बन्धित थिएनन् । त्यस्ता क्यारोलहरु चारै ऋतुहरुमा गाउने गरिन्थ्यो तर वर्तमान समयमा यो ख्रिष्टमसमा मात्रै सिमित रहेको छ ।

नेपाली मण्डलीहरुमा पनि क्यारोलको अभ्यास गर्ने गरिन्छ । नेपाली मण्डलीहरुमा प्राय क्यारोल खेल्ने भन्ने शब्द व्यापक प्रयोगमा रहेको छ । यधपि यसको अभ्यास र इतिहासलाई नियाल्दा क्यारोल खेल्ने भन्दा पनि क्यारोल गाउने भन्नु उचित देखिन्छ । हिन्दु धर्मावलम्वीहरुको देउसी भैलो र ईसाइहरुको क्यारोल उस्तै हो भन्ने कुराहरु पनि सुनिन्छ । झट्ट बाहिरबाट देख्दा त्यस्तै देखिने भएको कारणले हुन सक्छ, प्राय ईसाइहरुको क्यारोललाई अरुहरुले त्यसो भन्ने गर्दछन् । तर क्यारोल गाउनु भनेको मानिस जातिको उद्वारकर्ता मानव रुप लिएर यस संसारमा जन्मनु भयो भन्ने सन्देश गाएर, नाचेर उत्सव मनाउनु र अरुहरुलाई यो सुसन्देश सुनाउनु हो जुन हिन्दु धर्मावलम्वीहरुले गर्ने गरेको देउसी भैलोको अभ्यासभन्दा नितान्त फरक रहेको छ । क्यारोल गायनको अवधि ख्रिष्टमस आउन २–३ हप्ता अघि ख्रिष्टमसको अघिल्लो दिनसम्म रहने गर्दछ । तर यो अवधि मण्डलिले निर्धारण गर्ने हुँदा सबै ठाँउमा एक समान नहुन सक्छ । यधपि यो क्यारोलको कुरा बाईबलिय होइन भनेर कतिपय नेपाली मण्डलीहरुले ख्रिष्टमस मनाएता पनि क्यारोलको अभ्यासलाई ईन्कार गर्ने गरेका पनि छन् ।

क्यारोल किन गाउने र बाईबलमा कहाँ यसबारे लेखिएको छ ?
क्यारोल गायनको अभ्यास हजारौ वर्ष पुरानो हो र यसको अभ्यास बाईबलबाट नै लिइएको हो । बाईबलमा लुका १ः४६–५५ “मरियमको स्तुतिगान”, ६८–७५ “जकरियाको स्तुतिगान”, २ः१४ “स्वर्गदुतहरुको गान” देख्न सक्छौं जुन येशु ख्रिष्ट जन्मने समयमा गाईएको थियो । यहि बाईबलका पदहरुलाई आधार बनाएर नै क्यारोलको अभ्यास शुरुवात भएको हो ।

“क्यारोल” भन्नाले प्रशंसा वा आन्नदको गीत वा नाच हो । येशु ख्रिष्ट मानव बनेर यो संसारमा जन्मनु भएको भन्ने सत्यताको घोषणा गर्दै, गाउँदै र नाच्दै एक अर्कामा खुशी बाड्नु र अरुहरुलाई यो सुसन्देश सुनाउनु निश्चय नै असल कुरा हो । ख्रिष्टमसको अघिल्लो दिनसम्म क्यारोल गाईने गरिन्छ ।

क्यारोल सुसमाचार प्रचारको एक उपयुक्त माध्यम हो ।
क्यारोल गाउनको लागि प्रायले आआफ्नो मण्डलीका विश्वासिहरुको घरघरमा वा कुनै एक ठाउँलाई केन्द्र बनाएर त्यहाँ वरिपरिका विश्वासिहरु भेला भई क्यारोलको आयोजन गर्ने गरिन्छ । यस समयहरुमा छिमेकिहरुलाई बोलाई सहभागी गराउन सकिन्छ जहाँ उनिहरुले येशु प्रभुको जन्म र यसको महत्वबारे जान्न सक्दछन् । क्यारोलमा गाईने भजनहरु र बाँडिने ख्रिष्टमसको सन्देशले सुसमाचारको काम हुँदछ । अरु बेलामा जसरि सुसमाचार प्रचार नगरिकन नै क्यारोलद्वारा सुसमाचारको कार्य गर्न सकिन्छ । धेरै मण्डलिहरुले यस प्रकारले क्यारोलको आयोजना गरेको हामी देख्न सक्दछौं । यसरि क्यारोलको आयोजना गर्दैगर्दा हामिले अरुहरुबारे विचार भने अवश्य गर्नुपर्छ । धेरै अबेरसम्म ठुलो ठुलो आवाजमा गीतहरु बजाउने, नाचगान गर्नेजस्ता कुराहरुमा सतर्क हुन जरुरि छ । समयमै क्यारोलको क्रियाकलापहरुलाई समापन गर्नु असल हुन्छ ।

Facebook Comments