थुनामुक्त भएपछि पाटन क्‍वाइनोनिया चर्चमा धन्यवाद प्रार्थना सभा

काठमाडौं- बैशाख १७, उपत्यकाका चर्चका पास्टर अगुवा तथा विश्वासीहरूको बाक्लो उपस्थितिमा आज पाटन क्‍वाइनोनिया चर्च ललितपुरमा धन्यवादको प्रार्थना सम्पन्न भएको छ। घोराहीमा धर्म प्रचारको अभियोगमा पक्राउ परेकाहरूलाई साधारण तारेखमा रिहाइ गरेपछि आज आयोजित धन्यवाद प्रार्थना सभामा उपत्यकाका चर्च, विभिन्न संघ, संस्था, चर्चहरूका संगठनबाट सबै प्रतिनिधीहरू पदाधिकारीहरूको उपस्थिति रहेको थियो। धन्यवाद प्रार्थना सभामा पास्टर डिल्ली राम पौडेलले पक्राउ गरिएको घटना र थुनामा हुँदाको अनुभव बाँड्नुभएको थियो। सुनियोजित तरिकाले पक्राउ गरिएपनि सबैप्रति धन्यवादी भएको कुरा बताउनुभएको थियो। कानून ईसाईहरूको लागि धार्मिक स्वतन्त्रताको पक्षमा नभएकोले यसलाई सच्याउनुपर्ने कुरा पनि बताउनुभएको थियो। अब नेपालका मण्डलीमा पुन:आत्मिक जागृति आएको र ख्रीष्‍टियनहरूको बीचमा एकता भएको पनि बताउनुभएको थियो। साधारण तारेखमा छुटेकोले सबैले एक भएर निरन्तर प्रार्थना गरिरहन पनि हौसला दिनुभएको थियो।

नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक, धर्म निरपेक्ष राज्य भइसकेपछि धर्म प्रचारको अभियोगमा पहिलो पटक पास्टरलाई पक्राउ गरिएको हो। पास्टर डिल्लीराम पौडेल सहित पाँचजनालाई पक्राउ गरिएपछि देशभरीका चर्चहरुबाट र देशबाहिरका चर्चहरुबाट निरन्तर प्रार्थना भएको थियो। साथै विभिन्न जिल्ला ईसाई समाज, संगठन, संघहरुबाट प्रेस विज्ञप्ति, ध्यानाकर्षण पत्र प्रशासन कार्यालयहरूमा बुझाएका थिए।

धन्यवाद प्रार्थनाको सञ्‍चालन पास्टर शेर एसीले गर्नुभएको थियो भने, नेपाल ख्रीिष्टियन समाजका अध्यक्ष पास्टर बर्णवास श्रेष्‍ठले पक्राउ परेकालाई भेट्न जाने, हौसला दिने र विभिन्न तरिकाले सहायता पुर्‍याउने पास्टर अगुवाहरू, वकिल, पत्रकारसबैलाई धन्यवाद दिनुभएको थियो। प्रार्थना सभाको अन्तमा पास्टर डा.मंगलमान महर्जनले प्रार्थना गर्नुभएको थियो।

Source: Nepal Church

Facebook Comments