-भीम देउबा
सुरुमा कुनै महान सिद्धान्त आदर्श बोकेर म माओवादीमा लागेको होइन । राष्ट्रको निम्ति सर्वहारा जनताको निम्ति मुक्तिको यो पहल हो भन्ने कुराहरु त पछिमात्र मैले सिके र विश्वास गरें । विनीको झडपमा दुश्मनको गोलीले म ढलें । सेनाले मलाई २४ जनाको हत्याको अभियोगमा थुनेको थियो । माओवादी सेना कमान्डरको हैसियतले म जनयुद्धमा तन मन जीउज्यान आत्माबाट समर्पित थिएँ । मेरो लागि अर्को जीवन थिएन अर्को सोच थिएन केवल दुश्मन दुश्मन दुश्मन र उसको सफाया । जनयुद्धको बेला यूनिफाइड कमान्डका सशस्त्र फौज र शाही सेना तातिएका थिए । माओवादीहरु पनि खाइ नखाइ लुक्दै भाग्दै आक्रमण गर्दै हार जित सफलता विफलतालाई स्वीकार्दै अघि बढ्दै थियौं ।
सेनाले मेरा दाजु माओवादीका शंकामा जंगल लगेर गोली हानेको थियो । कालीकोटको एउटा स्कुलमा पढाइरहेकी मेरी फुपूलाई पनि माओवादीको नाउँमा जंगल लगेर बलत्कारपछि जीवित नै जलाइएको घटना मेरो निम्ति सहिनसक्नु बनेको थियो । म रिस र बद्लाको भावनामा अन्धो र पागल बनेर छापामार बनी जनसेनामा लागे । प्रतिशोध मेरो लक्ष्य थियो । आत्माबाट घृणा उम्रेपछि मर्नु भन्ने कुरो पनि सानो लाग्दो रहेछ । दाङ अर्घाखाँची कैलाली पाल्पाका ठूला ठूला आक्रमणमा सफल हुँदै हामी अगि बढ्यौं । म कम्पनी कमाण्डरमा नियुक्त हुँदासम्म ४८ साना ठूला लडाइँ पार गरिसकेको थिएँ । म्याग्दीको विनी बजार आक्रमणमा सेनाको गोली लागेर ढलें । पाता कसेर दिनरात उनीहरुले जानेसम्म र सकेसम्म मलाई यातना दिए । अर्धमृत अवस्थामा मलाई पुर् याएपछि बनुन्जेल मलाई यातना दिइसकेपछि कैलालीको गरक गणको गणपति रामशरण कार्कीले मलाई माओवादीमा किन लागिस् भनेर सोधे । त्यो मेरो लागि कुनै अप्ठेरो प्रश्न नै थिएन । निर्दोष दाजु र फुपूको हत्याबाट प्रेरित भएको कुरा मैले खुलासा गरें ।
पुराना कुराहरु के गर्नु । मलाई दिनसम्मको यातना दिइयो पिट्नुसम्म पिटे रुखमा बाँधे अनि सात महिना जमिनमुनिको चिसो टेंकीमा राखे । सात महिना मैले उज्यालो देख्न पाइनँ । मलाई एक दुई रात गोली हानी शेष गर्ने योजना भइसकेको थियो । तर एक जना मेजरले यो केटालाई मार्नुहुन्न यसबाट कुरा छिन्नुपर्छ भनेका थिएँ । मलाई हेलिकप्टरमा घुमाएर माओवादी मोर्चाको सुराक लिन खोजें । मैले ठाडै अस्वीकार गरें । शिविर र इलाका देखाउन भनी यातना दिइयो । मैले उनीहरुलाई सीधा भनें म मर्न तयार छु तर आत्मसमर्पण गर्दिनँ । यिनीहरु भाग्नमा ओस्ताद हुन्छन् भनी हात पैताला फिलामा इटाले हानीहानी मलाई अपांग बनाइएको थियो । मार्नको सट्टा उनीहरुले मलाई कुनै कारागारमा पठाएँ । दुई वर्षसम्म मलाई अँध्यारो टेंकीमा राखियो । अहिले साथी भाइको भनाइलाई अनुमान गर्छु त्यो ललितपुर नख्खु जेल हुनुपर्छ ।
सरकारी यूनिफाइड कमाण्डको हातमा सबै कुरा थियो । उनीहरुको अघि सि डि ओहरु झुक्ने अवस्थामा शाही शासन पुगिसकेको थियो । कैलाली बरक गणका गुल्म पति कर्नेल कार्कीले मलाई पुनस्र्थापनाको निम्ति पहल गरिदिनुभएछ । यो सब मलाई केही थाहा थिएन । मलाई कतै लगियो अनि त्यो स्थानमा बसाइएपछि आँखामा पट्टी र हातको हतकडी खोलियो । मैले थाहा पाएँ म विदेश जाने जहाजमा छु । मेरो हातमा पासपोर्ट र कामदार भिसा थमाइयो । जहाजमा मलाई हुल्ने चार सिपाही र मेजरलाई मैले देखें । अन्तिम शब्द मेजरको मुखमा यही थियो ‘भाइ दुख नमान्नू है हाम्रो त डिउटी हो ।’ यसरी लामो कारवास र यातनापश्चात मलाई घर गाउँ आफन्त र छापामार समूहमा फर्कन नदिनको लागि मलेसिया पठाइयो ।
त्यहाँ एक बंगलादेशी हाकिमको मुनी मैले काम पाएँ । युद्ध कालका दिन र रातका घटनाहरु अँध्यारो टेंकी जमिनमा खनेको पानी राख्ने रिजभ टेंकीजस्तो सिमेन्टको पक्की टेंकी -त्यो अँध्यारोमा मैले हजारचोटी आफ्नो काम कर्मको दृश्यहरु मन मगजमा देखिरहन्थें । के रात के दिन मेरो लागि अर्थ थिएन । मलेसियामा पुगेर कामकाजको बीचमा र राति थाकेर विस्तरामा सुत्दा पनि मैले सताएका रुवाएका र सफाया गरेका आवाज अनुहार र रोदनहरु फर्कीफर्की आउँथे । मलाई त्यो विषयमा चैन थिएन । कारावासको बेला ठाढो आदेशमा मलाई गोली ठोक्न सकिन्थ्यो । तर दुई तीनचोटी नै गोली ठोकिने अवस्थामा पुग्दा पनि म बाँचेको थिएँ । यी कुराहरुमा म सोचमग्न बन्थें । भीडन्तको जीवनबाट मुक्त बनेपछि स्मृतिमा झुण्डेर बसेका पुराना दृश्यहरुमलाई मेरो विवेकलाई खुबै सताउँथ्यो । मलेसियामा म सँगै काम गर्ने अलि पाको एक व्यक्ति हुनुहुन्थ्यो । उहाँले मलाई चर्च जाऔं हिँड भाइ चर्च भनी धुरुक्कै बनाउने । म त्यो कुरालाई टार्थे । मेलिसियामा भएको आफ्नै नेपाली भाषी चर्चमा जाने मलाई कुनै रहर थिएन । तर सन्तलाल सारुमगर दाइले मलाई फकाउने काम बन्द गर्नु भएन । चार महिनापछि उहाँले मलाई नौलो कुरा सुनाउनु भयो ‘आज मण्डलीमा नाचगान छ गीत संगीतको प्रोग्राम छ काठमाडौका वक्ता आ’छन् हिँड भाइ…।’
के रैछ त आज भनी मनभरि कौतुहल बोकेर म सन्तलाल दाजुसँग त्यो कार्यक्रममा गएँ । त्यो दिन मलाई एउटा अचम्मको घटनाले पर्खिरहेको थियो । काठमाडौको ज्ञानेश्वर चर्चका पास्टरज्यू आउनु भएको रहेछ । पास्टर रबर्ट कार्थकले दिनुभएको प्रवचन नै मेरो मनमा जलिरहेको प्रश्नलाई शीतल शान्त गराउने उत्तर थियो । युद्धकालमा मेरो हातबाट भएका काम कुकर्मले मलाई सधैं खेदिरहेको थियो । म कति पापी म कति निष्ठुरी म कति निकृष्ट भन्ने विचारले मलाई एकातिर सताउँथ्यो भने अर्कातिर मेरो निम्ति अब कुनै बाटो छैन पाप पखाल्ने दोष क्षमा गर्ने यो पृथ्वीमा कुनै शक्ति छैन मेरो आत्माले राम्रो ठाउँमा वास पाउने छैन भनी म सोचिबस्थें । विगतको रक्त-िहंसाको इतिहासको डोको बोकेर हिँडिरहेको व्यक्तिले अचानक त्यो दिन वक्ता कार्थकको मुखबाट अनौठो सन्देश सुन्न पाएँ । उहाँले बाइबलमा येशूले भन्नुभएको कुरो नै दोहोर् याउनुभयो त्यस्तो सन्देश र वाक्य त्यो पुस्तकमा छ भनी मलाई थाहा थिएन येशू प्रभुले भन्नुभएको वचनले मेरो भतभती पोलिरहेको विवेकमा पानी छम्केको जस्तै भयो,
‘हेर म ढोकामा उभिएर ढकढक्याउँछु । कसैले मेरो सोर सुनेर ढोका खोलिदियो भने म त्यसकहाँ भित्र पस्नेछु र त्यससँग भोजन खानेछु र त्यसले मसँग खानेछ ।’ यो खण्डको व्याख्या पास्टर गुरुले कसरी गर्नुभयो कुन्नि तर हरेक शब्द मेरो लागि थियो अनि हरेक वचनले मैसँग बोलिरहेको थियो । मैले आँखा बन्द गरें आँसु बग्न थाल्यो अनि मैले येशू ख्रीष्टको साँचो महत्व त्यसबेला बुझें । मजस्तो युद्ध अपराधीको निम्ति पनि आशा रहेछ भनी मैले त्यही दिन त्यही क्षण महसुस गरें । ‘हे पिता मलाई बचाउनुहोस हे पिता मलाई बचाउनुहोस् मलाई क्षमा गर्नुहोस्’ भनी मैले प्रभुलाई पुकारें । मेरो सबै बोझ हटेर गयो । म एक बिलकुल नयाँ व्यक्ति बनेको मैले थाहा पाएँ ।
आज मेरो जीवन र विचार परिवर्तन भइसकेको छ । मैले बाइबल पढ्न सुरु गरें । यो शास्त्रको शिखरमा उचालिएको शब्द ‘क्षमा’ लाई मैले विश्वास गरें अनि आत्मसात गरें । येशूको निमन्त्रणालाई फेरि सोच्नुहोस् कसैले मेरो सोर सुनेर ढोका खोलिदियो भने । यही एक वाक्य नै मेरो जीवनको सबैभन्दा ठूलो र मिठो आशा र आदेश बन्यो । मैले मेरो ह्दय उहाँको निम्ति पूरै खोलें र नयाँ मान्छे बनें । मजस्तो पापीले क्षमा पाउन सक्छु र जीवनलाई फेरि सुरु गर्नसक्छु भने म ठान्छु दुनियाको कुनै पनि व्यक्तिको निम्ति पूरापूरा आशा छ ।
Source: pariwartangarneshakti.com