हामीलाई फूल मनपर्छ, पूर्णिमाको जून मनपर्छ । सुन्दर चीजहरु प्रायः सबैलाई राम्रै लाग्छन् । सुकिलो बालकलाई देख्दा सुम्सुम्याउन मन लाग्छ, गालामा विस्तारै चिमोटिदिन मन लाग्छ । राम्री केटीसँग बाटोमा हामी साटियौँ भने तपाई हामी कोही–कोहीले त फर्की–फर्की हेर्छौँ पनि होला; केटीहरु पनि त्यसै गर्लान् । हेर्नमा सुन्दर लाग्ने कुराहरुप्रति हामी कति सजिलै आकर्षित हुनसक्छौँ; मोहित हुनसक्छौँ । यो पनि प्रेमको कुनै एउटा रुप त अवश्य हो ।
प्रेमले प्राप्ति गर्नैपर्ने मानसिकतातिर डो-याएपछि मान्छेहरु लगभग पागल बन्छन् । यसका आफ्नै सकरात्मक पक्षहरु पनि होलान् तर तपाई हामी जस्ता थुप्रै जवान मित्रहरुले एकअर्कालाई जीवनसाथीको रुपमा प्राप्त गर्नलाई रगतको धारा बगाएका छन् अनि नपाउँदा ज्यानको आहुति पनि दिइसकेका छन् । प्रेम–पीडामा पर्दा हात काटेर रगत बगाउनु चलचित्रमा मात्र होइन; रियल लाईफमा पनि देखेको छु । सायद तपाईहरुले पनि देख्नुभएकै हुनुपर्छ; कतिपय तपाई आफैँले पनि हात काटिसकेको हुनुपर्छ ।
‘म तिमीलाई माया गर्छु’ मात्र भन्दा नटेर्ने तरुणीलाई औँला काटेर रगतको मसीले चिठी लेखेपछि कुरो नमानेर धर ? तरुणीलाई कत्रो नैतिक समस्या ! आफ्नो लागि रगतको धारा नै बगाउन सक्नेलाई माया नगरेर फेरि कसलाई पो पर्खिबस्नु ? यति गर्दापनि उसको माया झुटो हो भनेर कसरी पो अविश्वास गर्नु ? तर यो त केही पूरानो बात हुनसक्छ । आजभोली जवानहरु माझमा माया–पिरतीको अर्कै सिस्टमहरु छ । ती मध्ये एउटा चाँहि फेसबुकको रिलेसनसिप अप्सनमा ‘रिलेसनसिप विथ’मा उसैको नाम सिफारिस गरेपछि र निर्धक्कसाथ एकअर्काको पासवर्ड एकअर्कालाई सुम्पिएपछि; त्यो भन्दा ठूलो अर्को एकअर्कालाई विश्वास गर्ने कडी छ जस्तो मलाई लाग्दैन ।
एकजना मित्र, उसको बारेमा भन्दा कुरो काटेजस्तो हुन्छ होला, तर उनी नै यो संसारमा छैनन् भने जति काटे पनि के नै फरक पर्ला र ! लगभग सात वर्ष अगाडिको कुरा हो । उनी उमेरले भर्खर पच्चीस काटेका भएपनि उक्त वर्षमा एसएलसी दिने तयारीमा थिए । पढाई ढिलो हुनको कारण चाँहि बिचैमा पढाई छोडेर चार वर्ष जति मलेशियामा पैसा कमाएर फर्केका रहेछन् । आफ्नो गाऊँमै पनि राम्रो स्कूल हुँदाहुँदै इटहरीमा आएर पढ्नुको मुख्य कारण; उनको प्रेमिका यहीँ बस्थिन् ।
आखिरमा प्रेमिकासँगको प्रेम सम्बन्धमा के समस्या प-यो कसैलाई थाहा भएन तर त्यो मित्र झोक्राउन थालेकोले थुप्रैले सम्झाउन थालेका थिए । उनको प्रेमिकाले हरेक पटकको फोन रिसिभ गर्थिन्; उनले जतिखेर चाह्यो उत्निखेरै भेट्न पनि सक्थ्यो, तर पनि समस्या सुल्झेन । एक रात उक्त मित्रले लगभग रातभरि नै आफ्नो प्रेमिकासँग कुरा ग-यो । तर विहानीपख घरको छतबाट एउटा भाई कहालिँदै तल आयो; म पनि हेर्न गएँ । त्यो मित्रले ब्लेडले आफ्नो बायाँ हातमा प्रेमिकाको नाम लेखेर नामलाई क्रस गरेछन् । घाऊ गहिरो थियो; विभत्स थियो । रगत पनि धेरै नै बगाइसकेछ । उसलाई मेडिकल लगियो र घाऊमा ब्यान्डेज बाँधियो ।
उक्त दिनभरि उसले आफ्नो प्रेमको निशानीहरु टुटाउनु फुटाउनु मै बितायो । थुप्रै फाटोहरु ‘फोटोशप’बाट डिजाइन गरेर धुलाएको रै’छ, सबै च्यात्यो; जलायो । बेलुकीपख भन्दैथियो ‘अब म यहाँ बस्दिन, आफ्नै गाऊँ–ठाऊँ फर्किन्छु’ । नभन्दै अर्कोदिन फर्केर गयो पनि; अनि आफ्ना सबै गाउँले आफन्त, साथीभाईहरुसँग भेट ग-यो; त्यो दिन हाँसिखुसी बितायो । अर्को दिन पनि ऊ यसरी नै डुल्यो । उसको साथमा एउटा गाऊँकै भाई पनि थियो रे । साँझमा जंगल जाने बाटोको मुखमा पुगेपछि उसले भन्यो–‘भाई तिमी घर फर्क, म एकछिनमा आउँछु’ । तर, उनी कहिल्यै फर्केनन् । अर्को दिन घर नजिकैको जंगलमा विहानीपख उनी झुण्डिएको अवस्थामा मृत फेला परे ।
यसरी प्रेमको खातिर थुप्रै प्रेमी–प्रेमिकाहरु बलिदान भएका छन् । रगतले लेखिएर स्थापित भएको प्रेम आफैँमा अलिक बढी विश्वासनीय हुनु तपाईँ हाम्रो माझमा स्वभाविकै होला । तर, रगतले लेखिएर नै सुरु भएको प्रेममा पनि धोका हुन सक्छ भन्ने अर्को प्रेमकथा पनि मसँग छ ।
एकजना इसाई दिदीको बिहे गर्ने बेला भएको थियो । तिनले आफ्नो प्रेमी भएको कुरा खुलाशा गरिन् तर प्रेमी अइसाई परेछन् । स्मरण रहोस् इसाई र अइसाईको बिचमा चर्चमा ‘पवित्र विवाह’ हुन सक्दैन । यसैले पाष्टरहरुबाट ‘विवाहभन्दा पहिला आफ्नो प्रेमीलाई प्रभू येशूसँगको विश्वासमा हुर्काउने–बढाउने अनि बप्तिष्मापछि मात्र विवाह गर्नु’ भन्ने सल्लाह दिदीलाई मिल्यो । तर उक्त दिदी यो कुरामा त्यति गम्भीर भइनन् । ‘त्यो केटाले तिमीलाई प्रेम गर्छन् भन्ने तिम्रो निश्चयता के हो ?’ भन्ने प्रश्नमा दिदीको उत्तर थियो–‘उनी मलाई जीवनभरि माया गर्न सक्छन्, किनकी उसले मेरै अगाडि ब्लेडले आफ्नो हात काटेर मेरो नाम खोपेको छ ।’
नभन्दै केही दिनपछि दिदी गायब भइन्, भन्नुको मतलब उनी सोही केटासँग भागिन् । तर आखिरमा दिदीको नौनारी गलेर लल्याकलुलुक त्यतिखेर भयो जतिखेर बोर्डरबाट भारत प्रस्थान गर्ने बेलामा उनीहरु प्रहरीको फन्दामा परे; र अनुसन्धान गर्दा केटा चेलीबेटी बेचबिखन अपराधका एक नाइके रहेछन् । दिदी हृदयमा गहिरो चोट बोकेर फर्किइन् । हात काट्दै गर्दा केटालाई जुन चोट प-यो, त्योभन्दा कयौं गुणा चोट दिदीले सहनुप-यो । कुनै–कुनै चोटको खत छालामा होइन तर मुहारमा झल्किँदो रै’छ ।
यस्ता पागलप्रेमीहरुको प्रेम कुनै साँचो होला, कुनै झुटो होला । थुप्रै पागलप्रेमीहरुको जमात संसारमा हुनसक्छन्, कतिपय तपाई हामी नै पनि होऔंला । यस्तै एक पागलप्रेमी जसले हामीलाई अथाह प्रेम गरे । जसले परमेश्वर र हामीबिचको संगतिको मध्यस्थताको लागि आफ्नो प्राणको आहुति दिए; उनलाई दुई डाँकुहरुको माझमा कलवरी डाँडामा क्रुसमा रगताम्मे झुण्ड्याइएको थियो । उनी थिए प्रभू येशू ख्रीष्ट जसले आफ्नो रगतले हाम्रो लागि छुटकाराको मोल तिरिदिए ।
प्रायः इसाईहरु सबैको मुखैमा झुण्डिएको बाइबलको वचन यस्तो छः ‘किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस, तर त्यसले अनन्त जीवन पाओस्’ (युहन्ना ३ः१६) । नियमित चर्च जानेहरु र औसी र पूर्णेमा मात्र जानेहरुले पनि ‘ख्रीष्टीय भजनको’ ११९ नं.को भजन धेरैपटक गाइएको हुनसक्छ । त्यहाँ एउटा लाइन यस्तो छः ‘…त्यागेको प्राण सम्झना राखौँ रगतले लेखेको ।’ रगतले लेखेको त्यही प्रेमले आज हाम्रो जीवनमा कस्तो काम गरिरहेको छ, सायद आफू–आफूलाई थाहै होला । ख्रीष्टको हामीप्रतिको यो प्रेमको महत्व र उदेश्यलाई अझ प्रष्ट यहाँबाट पारौँः ‘किनकी हामी दुर्बल हुँदा नै ख्रीष्ट अधर्मीहरुका लागि ठीक समयमा मर्नुभयो । धार्मिक मानिसको निम्ति मर्न तयार हुने कोही विरलै पाइएला, कतै असल मानिसको निम्ति कसैले मर्ने आँट पनि गरिहाल्ला । तर परमेश्वरले हाम्रा निम्ति उहाँको प्रेम यसैमा देखाउनुहुन्छ, कि हामी पापी छँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो’ (रोमी ५ः६–८) ।
अन्त्यमा, ‘कसले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्ने ? के संकष्टले, अथवा दुःखले, वा खेदोले, वा अनिकालले, वा नग्नताले, अथवा खतराले वा तरवारले ?’ (रोमी ८ः३५) । ‘किनकी हामी पक्का गरी जान्दछौँ, कि मृत्युले वा जीवनले, स्वर्गदुतहरुले वा प्रधानताहरुले, वर्तमानका कुराहरुले वा पछि हुने कुराहरुले, वा शक्तिहरुले, उचाइले वा गहिराइले, वा सारा सृष्टिमा भएका कुनै पनि कुराले, ख्रीष्ट येशू हाम्रा प्रभुमा भएका परमेश्वरको प्रेमबाट हामीलाई अलग गर्न सक्नेछैन’ (रोमी ८ः३८–३९) ।