चर्च कपको उपाधि ग्रेस ख्रीष्टिय मण्डलीलाई

क्रिश्चियन स्पोर्टस् फेलोशिप् नेपालको आयोजनामा भएको आठौं अन्तर मण्डली फुटबल प्रतियोगिता २०१४ फेलोसिपकै स्पोर्टस् कम्प्लेक्स सातदोबाटोमा भव्यताका साथ सम्पन्न भएको छ । मे ३१ देखि जुन १४ तारिख सम्म सञ्चालन भएको यस प्रतियोगितामा उपत्यकाका २४ वटा मण्डलीहरुको सहभागीता रहेको थियो । प्रतियोगिताको उद्घाटन समारोहमा विशेष अतिथिका रुपमा ललितपुर क्षेत्र नं २ का सभासद चन्द्र श्रेष्ठ लगायत उपत्यका भित्रका विभिन्न मण्डलीका पास्टर अगुवाहरुको उपस्थिति रहेको थियो । उद्घाटनका क्रममा सभासदले आधिकारिक रेफ्रीलाई बल हस्तान्तरण गरी प्रतियोगीता सुचारु गरिएको थियो । उद्घाटनको पहिलो खेल बेथानी अनुग्रह मण्डली र आशिष मण्डलीका बिचमा भएको थियो । यस प्रतियोगितामा समूह चरणका खेलहरु लिग र बाँकी खेलहरु नकआउट शैलीमा खेलाइएको थियो । क्रिश्चियन स्पोर्टस फेलोशिप नेपाल अन्तर्गत रहेर पास्टर प्रेम श्रेष्ठको अध्यक्षतामा एक आयोजक समिति गठन गरी हेम कुमार चौहानको संयोजकत्वमा प्रतियोगिता सञ्चालन गरिएको थियो । चर्च कपकै इतिहासमा पहिलो पटक १४ वटा विभिन्न संघसंस्था तथा व्यापारिक केन्द्रहरुले यो प्रतियोगिता प्रायोजन गरेका थिए ।

csfcupयहि जुन १४ मा ग्रेस ख्रीष्टिय मण्डली र महिमा ब्याप्टिष्ट मण्डली बिच भएको निकै रोमाञ्चक फाइनल खेलमा महिमा ब्याप्टिष्ट मण्डलीलाई ३–० को गोल अन्तरले ग्रेस मण्डलीले यस वर्षको च्याम्पियन कप चुम्न सफल भएको छ ।

समापन कार्यक्रममा युवा तथा खेलकूद मन्त्रालयका उप–सचिव राम बहादुर हमाल विशेष अतिथि रहनुभएको थियो । बिजेता मण्डलीका सम्पुर्ण खेलाडीहरुलाई प्रशंसा पत्र तथा मेडल बितरण गरिनुका साथै सहयोगी संघ सस्थाहरुलाई समेत प्रशंसा पत्र प्रदान गरिएको थियो । यस समापन कार्यक्रममा युवा तथा खेलकुद मन्त्रलायका उप–सचिव राम बहादुर हमालको उपस्थिति रहेको थियो।

Facebook Comments