काठमाडौं सिजिएफद्वारा हाइकिङ

बैशाख १, नव वर्षको अवसर पारी काठमाडौं सिजिएफद्वारा २२८५ मिटर अग्लो चम्पादेवि पहाडमा हाइकिङको आयोजना गरेको थियो । हाइकिङमा सिविएस्का प्रतिनीधिहरु सहित ३६ जना स्नातकहरुको उपस्थिति रहेको थियो । बिहान ८:३० बजे चाल्नाखेलबाट शुरु भएको हाइकिङ १०:३० बजे माथि डाँडामा पुगेको थियो । अध्ययन, अध्यापन, सेवाकाई, व्यवसाय, सामाजीक सेवा जस्ता विभिन्न क्षेत्र र पेशामामा व्यस्त व्यक्तिहरुलाई समेट्ने गरि सिजिएफले बेलाबेलामा संगति, क्याम्प, विषयगत छलफल जस्ता कार्यहरु गर्दै आएको छ । नेपाली नयाँ साल २०७० को सुभारम्भमा सिजिएफको मुख्य लक्ष्य उच्च चम्पादेवि पहाडमा चढ्ने र एकान्त ठाउँमा शान्त समयमा परमेश्वरसँग प्रार्थना गर्ने थियो । त्यही गन्तव्यलाई लक्ष्य बनाएका अरु थुप्रै समुहहरु पनि बाटोमा फोटो खिच्दै सुन्दर पहाडमा सुस्केरा सुसेल्दै नयाँ वर्ष मनाउन हिँडिरहेका थिए । दुई घण्टाको उकालो चढेपछि डाँडामा बहेको चिसो हावामा साह्रै आनन्द आएको थियो । पहाड चढ्ने क्रममा कतिजना डढेलो लागेको दृश्य आफ्नो मोबाइलबाट र क्यामेराबाट कैद गर्दै थिए भने कति जना भिडियो खिच्दै थिए । हामी पनि बाटोमा फोटो खिच्दै एकान्त सल्लेरीबाट राम्रो दृश्य देखिने ठाउँमा बसेर बिस्कुट खाँदै, हाँस्दै हँसाउँदै आराम गर्यौँ । केहि समय कोरस गाएर परमेश्वरलाई महिमा प्रशंसा गरेपछि जीवन सुवेदीले सिजिएफको गतिविधिबारे बताउनुभएको थियो । यसै गरि देबेन्द्र अधिकारीले काठमाडौं सहरी क्षेत्रमा भएको फोहोर सरसफाईमा अग्रसर भएको र एलिजवेथ गुरुङ्गले सोसियल वर्कको बारेमा बताउनु भएको थियो ।

ग्रेस खालिङ दिदीको नेतृत्वमा सम्पन्न भएको यस हाइकिङमा उहाँले परमेश्वरसँग शान्त समय बिताउने महत्वको प्रकाश पार्दै विभिन्न उदाहरण र बाइबलका पदहरुबाट सिकाउँदै व्यक्तिगत जीवनको अनुभवहरुबाट पनि सबैलाई उत्साह दिनुभएको थियो । त्यसपछि सबैजना समुहबाट छुट्टिएर २० मिनेटसम्म व्यक्तिगत शान्त समय बिताएको थियौँ । शान्त समयपछि समुहमा आई केहि साथीहरुले आफ्नो अनुभव र नयाँ सालको लागि परमेश्वरको निम्ति गर्नुपर्ने प्रतिवद्धता पनि बताउनु भएको थियो । नेपाल देशमा असल नेतृत्व नभएको बेला असल नेतृत्व र उदाहरणीय कामहरु आगामी दिनहरुमा प्रभुका जनहरुबाट हुन आवश्यक रहेको कुराहरु समेत जाहेर गरिएका थिए ।

संगति पश्चात सबै जनाले ल्याएको विभिन्न परिकारको खानेकुरा एक ठाउँमा जम्मा गरेर बाँडेर खाँदा साह्रै रमाईलो भएको थियो । खानापछि चन्द्र गुरुङ्गले सबैलाई रमाईलो हुने गरि खेल खेलाउनु भएको थियो । अन्तमा आशिष खड्काले प्रार्थना गरेपछि आ–आफ्नो लठ्ठि समाती करिब साँढे ३ बजेतिर ओरालो लाग्यौँ । मैदानमा पिकनिक खानेहरु रमाईलो गरिरहेका थुप्रै समुहहरु आफ्नै तालमा नयाँ वर्ष मनाइरहेका थिए । उनीहरु विभिन्न शैलीमा नयाँ सालको अवसरमा झुमिरहेका थिए । देशभरि भएका ख्रीष्टका जनहरु, स्नातकहरु, विद्यार्थीहरु जागरुक भई आगामी दिनहरुमा समाजमा नून र ज्योति भएर जिउनु आवश्यक छ । “धन्य नम्रहरु, किनभने तिनीहरुले पृथ्वीको अधिकार पाउनेछन् ।” मत्ती ५:५ । “निस्वार्थ सेवा र असल नेतृत्व ख्रीष्टमा भएकाहरुबाट मात्र सम्भव छ”। वास्तविकतामा येशूको उदाहरण पछ्याउनेहरुमा यो कुरा असम्भव छैन । थोरै मानिसहरु मात्रै छन् देशको लागि वास्ता र प्रार्थना गर्ने । प्रार्थनाद्वारा पृथ्वी र यस देशलाई अधिकार गर्ने अर्को एउटा व्यक्ति हामीहरु बन्न सक्छौं।

Facebook Comments