NCS को विज्ञप्तिलाई लिएर जबर्जस्ति फैलाउन खोजिएको एउटा अफवाह
२०७२ सालको भूकम्पमा कतिवटा घरहरू भत्किए ? कतिवटा विद्यालयहरू भत्किए? कतिवटा मन्दिर र गुम्बाहरू भत्किए ? कतिवटा सरकारी कार्यालय भवनहरू भत्किए ?
यी सबैको स्पष्ट रेकर्ड सरकारसँग छ । भत्किएका कतिपय संरचनाहरू निर्माण भैसके भने कतिपय निर्माणाधीन अवस्थामा छन् । सबैका बारेमा सबैलाई जानकारी भए पनि एउटा कुरा कसैलाई थाहा छैन । सरकारले देशभरिमा कतिवटा चर्च भत्किए भनेर गनिराख्नु आवश्यक ठानेन । सयौंको संख्यामा भत्किएका चर्चहरूले सरकारको तर्फबाट राहत पाउदै पाएनन् भन्दा पनि हुन्छ ।
चर्चहरू भत्केका छन् सरकारले गन्दा पनि नगन्ने बनाउँदा पनि नबनाउने अनि आफै पैसा उठाएर पनि नबनाए हुन्थ्यो झैं गर्ने । विगतमा भएको त्यही हो ।
अहिले बाढी आयो । हाम्रा सयौं चर्च भवनहरू क्षतिग्रस्त छन् । यति कुरामा निश्चित भए हुन्छ यो पाली पनि सरकारले भत्किएका चर्चहरूको गणना गर्ने छैन । चर्चहरू आफै रोईकराई गरेर पैसा उठाएर बनाउनुको विकल्प हुनेछैन ।
यस्तो अवस्थामा ख्रीष्टियान समुदायबाट सहायताको अपील गर्न नै नहुने ? सरकारले हामीलाई यो जवाफ दिनुपर्यो, यदि सरकारले आह्वान गरेझैं आफुखुसी राहत संकलन गर्न नपाउने हो भने मन्दिरसरह हाम्रा चर्चहरूको पुनर्निर्माणमा बजेट छुट्याउने कि नछुट्याउने ? यदि हामीलाई ढलेको ढल्यै बनाउने हो भने, बगेको बग्यै बनाउने हो भने हामीले सरकारको आह्वान किन मान्नुपर्ने ?
पछिल्लो समय नेपाल ख्रीष्टियान समाजले निकालेको विज्ञप्तिलाई लिएर रातोपाटी खबरसाइटमा प्रकाशित समाचारलाई आधार बनाएर ख्रीष्टियान समुदायकै चीरपरिचित भनिने व्यक्तिहरू उल्टो प्रचारबाजीमा लागेको देख्दा अचम्म लागेको छ । देशमा बाढी आएको छ, देश दु:खमा छ सबैले आफ्नो आफ्नो ठाऊँबाट प्रार्थनासहित सक्दो सहायता गरौँ भनेर खुल्ला आह्वान गर्नुमा खरावी चाहिँ के छ ? विज्ञप्तिमा सहयोगको निम्ति अपील मात्रै गरिएको छ । त्यसैलाई लिएर रातोपाटीले समाचार बनाएको छ भने केही व्यक्तिहरूले विज्ञप्तिको गलत अर्थ लगाईको विरोध गर्नुको सट्टामा उल्टै इन्धन थप्ने काम गरेका छन् ।
हिटलरकालीन समयका एक प्रशिद्ध जर्मन प्रोटेस्टेन्ट पास्टर मार्टिन नेईमूलरले एकपटक यसरी भनेथे, “सुरुमा उनीहरू सोसिएलिस्टहरूकहाँ आए, म केही बोलिनँ, किनकि म सोसिएलिस्ट थिइनँ । पछि उनीहरू ट्रेड यूनियनवालाहरूकहाँ आए, अझै पनि म केही बोलिनँ किनकि म ट्रेड यूनियनवाला थिइनँ । त्यसपछि उनीहरू यहुदीहरूकहाँ आए, फेरि पनि म बोलिनँ किनकि म यहुदी थिइनँ । अन्त्यमा, उनीहरू मकहाँ पनि आए, त्यतिबेला मेरो निम्ति बोलिदिने कोही बाँकी नै थिएन ।”
संचारमाध्यमले अर्को संस्थाको बारेमा झुट फैलाऊँदा खुसी हुने महासयहरू, त्यो दिन पनि आउनसक्छ, जब उनीहरू तपाईंहरूकहाँ आइपुग्नेछन् तर तपाईंहरूको पक्षमा बोल्ने कोही बाँकी रहने छैनन् ।
काम गरौँ, हामीले बोल्नै पर्दैन । काम गरेनौं र बोलिमात्रै राख्यौं भने हामी झ्याईंझ्याईं गर्ने झ्यालीभन्दा बढ्ता महत्वका हुने छैनौं ।