माया पिरतीको हुरी कम्तिमा एकपटक हरेकको जीवनमा चल्छ । कतिजना टुङ्गोमा पुग्छन् । कतिजना हिँडदै जाँदा दोबाटोमा पुग्छन् । सम्झिल्याउने हो भने; यस्ता कुराहरुमा एकअर्कालाई दोष्याउने ठाऊँ कतै हुँदैन । तर पनि मायामा बिछोडिएकाहरु एकअर्कालाई दोष्याएर मनको पीर शान्त पार्छन् । यो राम्रो आइडिया हो । यसलाई सकारात्मक रुपमा लिँदा सायद राम्रै हुन्छ । पंखामा झुण्डिएर दुःख बिसाउनुभन्दा त यो आइडिया कहाँ हो कता राम्रो हो ।
एकपटक म एउटा युवा सम्मेलनमा सहभागी भएको थिएँ । ‘प्रेम र विवाह’को बारेमा सिकाउँदै गर्नुभएका वक्ताज्यूले ‘ख्रीष्टियन युवा–युवतीहरुले गैह्र ख्रीष्टियन मानिसहरुसँग प्रेममा फस्नु गलत हो’ भन्दै गर्दा सहभागी थुप्रै जवानहरुको मुहार खिन्नताले भरियो । आत्मग्लानीले भनौँ वा हीनताबोधले; उनीहरुले शिर निहुराए ।
हाम्रा थुप्रै जवान साथीहरु अन्यजातिहरुसँगको प्रेम सम्बन्धको कारणले प्रभुसँगको आत्मिक जीवनमा भुसुक्कै भएका छन् । नयाँ किशोर–किशोरीहरु जान–अन्जानमा प्रेमको दुनिँयामा अलपत्र परेका छन् ।
अइसाईसँग प्रेम गर्नु मिल्ने कि नमिल्ने ?
क्रिश्चियन युवायुवतीहरुले गैह्रक्रिश्चियनसँग प्रेम गर्न मिल्ने कि नमिल्ने ? यो विषयमा प्रायः जवानहरु रनभुल्लमा परेका छन् । उनीहरु दोधारमा पेन्डुलमभैँ हल्लिरहन्छन् । हामी क्रिश्चियनहरु परमेश्वरको प्रेमको खातिर अरुलाई प्रेम गर्न र प्रेम देखाउन बाध्य छौँ । प्रभु येशूको प्रेमले गर्दा हामीले अरुलाई प्रेम गर्न कर लाग्छ । यसैले प्रेम गर्नु गलत कसरी हुन सक्छ ? हामी त आफूलाई जस्तो गरियोस् भनेर सम्झन्छौँ अरुलाई पनि त्यस्तै व्यवहार गर्नुपर्नुे मानिसहरु हौँ । आफ्नो छिमेकीलाई आफैँलाइैझैँ पे्रम गर्नुपर्ने मानिसहरु पो होइनौँ र ? त्यसोभए गैह्र इसाईहरुसँग प्रेमको माला उनेर प्रेमको सागरमा हराउनु पक्कै गलत कुरा कसरी हुनसक्छ ? तर एकछिन् प्रेमको विषयमा छोटकरीमा हेरौँ ।
प्रायः हामीले पढेको सुनेको हुनुपर्छ, चारप्रकारको प्रेमको बारेमा । ती निम्न छन्,
क) स्टोर्गे प्रेमः परिवारका सदस्यहरुबीचमा हुने प्रेम, आमा–बुवा र छोरा–छोरीबिचको प्रेम, एकै परिवारका दाजुभाई–दिदीबहिनीबिच हुने प्रेम ।
ख) फिलियो प्रेमः भातृप्रेम, साथीभाईहरुसँग हुने प्रेम ।
ग) इरोस प्रेमः आकर्षणको कारणले सुरु हुने प्रेम, श्रीमान–श्रीमतिबिचको प्रेम, अर्थात अविवाहित युवायुवतीले एकअर्कालाई गर्ने प्रेम पनि इरोस प्रेम नै हो ।
घ) अगापे प्रेमः इश्वरीय प्रेम, यो परमेश्वरले गर्नुहुने प्रेम, हामी जतिसुकै कसैलाई प्रेम गरौँ तर, त्यो परमेश्वरले गर्नुहुने प्रेम बराबर कहिल्यै हुन सक्दैन ।
आज यहाँ मैले औँल्याउन चाहेको प्रेम ‘इरोस प्रेम’को विषयमा हो । अगापे प्रेमबाहेक अरु प्रेम मानिसको जीवनमा समस्याको कारण विरलै बन्न सक्ला, तर माथिका चारप्रकारको प्रेममा मानिसहरुको लागि सबभन्दा बढी समस्याको कारण बन्न सक्ने प्रेम चाँहि ‘इरोस् प्रेम’ नै हो । प्रेम आफैँमा नराम्रो कुनै हालतमा होइन भन्ने कुरा १कोरन्थी १३ अध्यायमा पढ्न सक्छौँ, तर इरोस् प्रेम हाम्रोलागि खतरा कसरी बन्न सक्छ भन्ने कुरा अब विचार गर्नेछौँ ।
थाहा पाइसक्यौँ कि गर्लफ्रेण्ड ब्वायफ्रेण्ड बिचको प्रेम पनि एकअर्कामा आकर्षित भएको कारणले सुरु भएको प्रेम हो । हुनसक्छ थोरै वा धेरै फटाहा, बदमासहरुले टाइम पासको लागि एकअर्कालाई प्रेम गर्लान्, तर धेरैजसोको प्रेम गर्नुको उद्देश्य भनेको प्रेमी–प्रेमिका हुनु मात्र नभएर भविष्यमा गएर एकअर्काको लागि जीवनसाथी (श्रीमान–श्रीमति) बन्नु पनि हो । त्यसो हो भने हामीले कसैसँग प्रेमको सुरुवात गर्नु अघि खुब होश विचार पु-याउनैपर्छ ।
बाइबलमा एउटा खण्ड यस्तो छः ‘अविश्वासीहरुसँग एउटै जुवामा ननारिओ । किनकी,… अँध्यारोसँग उज्यालोको के सहभागिता? …वा विश्वास गर्नेको विश्वास नगर्नेसित के समानता ? मुर्तिहरुसँग परमेश्वरको मन्दिरको के सम्झौता ?’ (२ कोरन्थी ६ः१४–१६) । यो खण्डको अर्थ लगाउने तरिका थुप्रै होलान् । तर एउटै जुवामा नारिएर हिँड्ने कुरालाई जीवनसाथी वा श्रीमान–श्रीमति बिचको सम्बन्धको रुपमा अर्थ लगाउनु बहुतै सान्दर्भिक देखिन्छ । यसरी बाइबलको यो आज्ञालाई केही कठोर रुपमा पालन गर्ने हो भने इसाई युवायुवतीले गैह्र इसाई युवायुवतीसँग मायाजालमा फस्नु पटक्कै मिल्दैन । हामी विश्वासी हौँ । येशू ज्योति हुनुहुन्छ; उहाँलाई पछ्याउनेहरु उज्यालोमा रहन्छन् । हामी परमेश्वरको मन्दिर हौँ र पवित्र आत्मा हामीमा बास गर्नुहुन्छ । यसैले पनि माथिको वचन अनुसार अविश्वासीहरुसँग प्रेमको जालमा पर्र्नुहुँदैन ।
हुन त हामी संसारमै छौँ र बाँचुन्जेल यही धरतीमा बस्नुपर्छ । तरपनि प्रभु येशू भन्नुहुन्छः ‘तिमीहरु यस संसारका होइनौ’ । अर्थात् हामी येशूको रगतले मोल तिरेर किनिएका हौँ, हामी आफ्नै होइनौँ । त्यसोभए सँसारको जुवामुनि पर्नु हाम्रो लागि सुहाउने कुरा पटक्कै होइन । मुर्तिपूजा गर्दा परमेश्वर अप्रसन्न हुनुहुने कुरा प्रस्थान ३४ः१४ पदमा उल्लेख भएको छ । उहाँ भन्नुहुन्छः ‘म डाह गर्ने परमेश्वर हुँ ।’ त्यसो हो भने अविश्वासीहरुसँग एउटै जुवामा नारिएर पनि किन परमेश्वरलाई डाही तुल्याउने ?
तर भ्रमको यस्तो छः
अविश्वासीहरुसँग एउटै जुवामा ननारिनुको अर्थ उनीहरुसँग कुनैपनि प्रकारको सम्बन्ध नै नराख्नुपर्ने हो कि भन्ने पनि हुनसक्छ । त्यसो हो भने त हामीलाई बाँच्न धेरै नै गाह्रो पर्नेछ । प्रथम कुरो त प्रभुलाई नचिन्नेहरु सबै खराब हुन्छन् भन्ने पनि होइन । प्रभु येशू पनि पापीहरुको उद्दार गर्न आउनुभएको कारणले बरु हामी पनि पापको दासत्वमा परेकाहरुसँग मित्रता गाँस्न सक्छौँ, उनीहरुको अघि येशूको साक्षी बन्न सक्छौँ ‘…हामीलाई यस संसारका व्यभिचारीहरु, लोभीहरु, वा लुटाहाहरु वा मुर्तिपुजकहरुसँग बिल्कुलै सँगत नगर्नु भनिएको होइन; नत्रता हामीहरु संसारबाट नै निस्किजानुपर्ने थियो’ (१ कोर. ५ः१०) ।
हामी सकेसम्म सबैसँग मिलेर शान्तिमा बस्ने हो । बरु उनीहरुलाई सु–समाचार सुनाउने हो । हामी एक अर्कालाई साथी, आफन्त वा इष्टमित्रको रुपमा प्रेम र वास्ता गर्नसक्छौँ । सँगसँगै थुप्रै कार्यहरुमा सहकार्य गर्नसक्छौँ । फेरि दोहो-याऊँः प्रेम गर्न नमिल्ने होइन, तर प्रेमको टुङ्गो जीवनसाथीमा पुग्ने हो भने चाँहि अइसाईसँग प्रेम सम्बन्ध मनाही छ । यसो भन्दै गर्दा कतिपयको विचारमा विवाह गर्नु एकहप्ता अघि केटा वा केटीलाई बप्तिस्मा दिँदा सकिगो नि ! भन्ने धारणा पनि आयो होला । तर दिनहरु भनेजस्तो पटक्कै हुनेछैन ।
कतिपयको बुुझाईमा प्रेम अनि विवाहको कारण एउटा आत्मा बचाउने बहाना पनि देखिन्छ । तर अविश्वासीहरुलाई प्रभुमा ल्याउने यो काइदा पटक्कै ठीक छैन । प्रभुलाई विश्वास गर्ने भनेको कुनै केटा वा केटीको कारणले होइन । श्रीमान–श्रीमति एकअर्काको लागि क्रिश्चियन बन्ने भन्ने कुरा आउँदैन । पहिलो कुरा त ख्रीष्टियन हुनु भनेको परमेश्वरसँगको व्याक्तिगत सम्बन्धको सुरुवात हो ।
‘‘म एक इसाई ठिटो थिएँ, बप्तिस्मा पनि पहिले नै लिएको । कलेज पढ्दै गर्दा एक अइसाई केटीलाई मन परेको कारणले भगाएर ल्याएँ । किनकी हाम्रो आस्था नमिल्ने भएकोले हामी दुवैको परिवारको साथ पाउन असमर्थ थियौँ, र भाग्नुभन्दा अर्को विकल्प हामीसँग थिएन । तर म परमेश्वरको प्रेममा भिजेको कारणले पछि पुनः मण्डली जान सुरु ग-यौँ । सुरुको एक महिना मण्डलीले हामीलाई अनुशासनमा राख्यो । अहिले मेरी श्रीमतिले पनि प्रभुलाई ग्रहण गरिसकेकी छिन् । सायद परमेश्वरको इच्छा पनि यस्तै थियो होला । जेहोस् मैले एउटा आत्मालाई प्रभुमा जित्ने मौका पाएँ’’ यस्तो खालको हुतिहारा गवाही बाँड्नु एक इसाई लक्का जवानको लागि साह्रै लाजमर्दो कुरा हो ।
इसाईहरुको अइसाईसँग लभ पर्ने सम्भावनाः
पढाईको बहानामा सँगतिमा अनुपस्थित हुने, बाइबल अध्ययन गर्ने समय नहुने कुरा सुनाएर तर्किनु ख्रीष्टियन विद्यार्थीहरुलाई साह्रै सजिलो छ ।
‘बाइबल पढ्ने समय किन छैन ?’
‘स्कूल–कलेजकै किताब कति पढ्नु छ दादा…!’
‘सँगति किन आउन छोडेको ? के भयो ?’
‘आउनु त भनेको, तर परीक्षाको तयारी गर्नुछ ।’
माथिको वार्तालाप; तपाईँ–हाम्रो मण्डलीको जवान सँगतिको सामुहिक साझा समस्या हुनसक्दछ ।
इसाई केटा–केटीको अन्यजातिहरुसँग मायाप्रेममा पर्नुको मुख्य सम्भावना आजभोलिको समयमा स्कुल–कलेजको कारणले गर्दा नै हो । मैले पनि मेरो स्नातकसम्मको पढाई सिध्याउँदासम्म जति कक्षाहरुमा पुगेँ, त्यहाँ इसाई विद्यार्थी एक–दुईजना मात्र; नत्र प्रायः एक्लै परेँ । यसो हुँदा हाम्रो बढी सँगत र सम्बन्ध अइसाईहरुसँग नै हुनजान्छ । अनि एकअर्कामा आकर्षित हुनु र मायाजालमा फस्नु कुन ठूलो कुरा भयो र !
पढाईको बहानामा सँगतिमा नजाने, चर्चमा आयोजना हुने युवा सम्मेलनहरुमा सहभागी नहुने; यस्तै–यस्तै कारणहरुले आफ्ना इसाई साथीसँगीहरुको सञ्जालबाट टाँढिदै जाने खतरा बढ्छ । अनि त कागको बथानमा कति दिन बकुल्ला हुने ? बरु आफू पनि काग भइदिने, छैन त गजब ? तर यो गजबको परिणामको मूल्य चुकाउनुपर्दा छर्लङ्ग घैँटोमा घाम लाग्नेछ । यसैले कसैलाई जीवनसाथीको रुपमा प्रेम गर्दै अघि बढ्न अघि दशपटक ठण्डा दिमागले सोचौँ ।
अन्त्यमा टुक्राटाक्रीः
हामीले केही अपवादहरु देखेकाछौँ होला; इसाई केटा–अइसाई केटी वा अइसाई केटा–इसाई केटीको भागेर होस् वा विधि पु¥याएर; विवाहपश्चात सबै कुराहरु ठिकै भएको, राम्रै भएको । तर यस्ता कुराहरुको कारणले तपाईँ–हामी अविवाहितहरु त्यस्तो प्रकारको बाटो रोज्न प्रेरित हुनुहुँदैन । त्यस्तो गलत बाटो रोज्नेहरु सबै राम्रो भएका पटक्कै होइनन् । कहीँ–कतै आक्कलझुक्कल देखिएका कुरा हुन् । पछि आउने भावी पुस्ताको अघि जवाफदेही नहुनको लागि पनि यदि हामी गलत मार्गमा छौँ भने सही मार्गमा आउन आनाकानी गर्नुहुँदैन । केही दिन दुःख–पीडा, चोटको महशुस हुन्छ होला… तर सम्हाल्ने प्रभु हुनुहुन्छ ।
जोसुकैसँग; आफूले चाहेको मान्छेसँग मायापिरती गाँस्न पाइने कुरा अधिकारसहितको तर्क निकाल्न सकिन्छ होला । तर, याद गरौँ; हामी इसाई हुनुले परमेश्वरसँग र सँसारसँग हाम्रो जीवनको सम्बन्धले के अर्थ लाग्छ ? तर्ककै आधारमा असललाई खराब र खराबलाई असल देखाउने दुस्साहस कसैले गर्नुहुँदैन । आखिर असल वा खराब छुट्याउने ज्ञान परमेश्वरले सबैलाई दिनुभएकै छ । केटा वा केटीलाई बप्तिस्मा दिएको भोलिपल्ट चर्चमा विवाहभोजको आयोजना गर्नु एक विवेकी इसाई युथको लागि शोभनीय पटक्कै हुनेछैन ।
(नोटः यो लेख लेखिनुको उद्देश्य अविवाहित इसाई किशोर–किशोरी तथा युथहरुको सचेतनाको लागि हो । संयोगवश कोही–कसैलाई चोट पुग्नगएको छ भने मलाई ख्रीष्टको प्रेममा आफ्नै भाई वा दाई सम्झेर क्षमा गर्नुहोला । धन्यवाद ।)