नेतृत्व हस्तान्तरण उदाहरणीय कार्य

Photo by Ishwor Sampang

ललितपुर- फागुन २७, २०७४। बाइबलको आधारमा चर्चको सेवाको लागि जिम्मेवारी हस्तान्तरणका केही भन्न र लागू गर्न लायकका उदाहरणहरू हाम्रा चर्चहरूमा पाउन थालिएको छ। सिकाउनु र व्यवहारमा लगाउनु महत्वपूर्ण शिक्षा हो। जुन पछिसम्म पनि अनुकरण गर्न सकिन्छ। यस्तै एउटा उदाहरण: ललितपुर लिभिङ ब्याप्‍टिष्‍ट चर्चले विशेष कार्यक्रमको आयोजना गरी चर्चको सेवा गर्न पास्टरीय जिम्मेवारी हस्तान्तरणा गरेको छ। जिम्मेवारी हस्तान्तरण कार्यक्रममा, चर्चका पास्टर राजेन्द्र मल्लले चर्चको सेवाको पास्टरीय जिम्मेवारी पास्टर जीरमान राईलाई सुम्पनुभएको छ । पास्टर जीरमान राईले राष्ट्रिय स्तरमा बप्‍तिस परिषदमा रहेर पनि सेवा पुर्‍याउनु भयो साथै स्थानिय चर्चमा पनि पास्टरलाई सहायता गर्दै आउनुभएको थियो। जसरी दश वर्ष अगाडि संस्थापक रेभ पास्टर तुला सिं राईले चर्चको सबै सेवा गर्ने जिम्मा पास्टर राजेन्द्र मल्ललाई दिनुभएको थियो, त्यसैगरी पास्टर राजेन्द्र मल्लले पास्टरीय जिम्मेवारी पास्टर जीरमान राईलाई सुम्पनु भएको छ । चर्चका संस्थापक रेभ पास्टर तुला सिं राईले सेवा गर्नलाई बाइबलअनुसार सेवाको काम हेरेर, जिम्मेवारी हस्तान्तरण गर्दै आएको कुरा बताउनु भएको थियो।
साथै देवानन्द कडरियालाई चर्चको सेवामा सहायता पुर्‍याउनको निम्ति सहायक पास्टरको जिम्मेवारी हस्तान्तरण गर्नुभएको छ ।
संस्थापक पास्टर तुलासिं राई पछिको सेवाकाइमा १० वर्ष पास्टरीय रूपमा सेवा पुर्‍याउनुभएका पास्टर राजेन्द्र मल्ललाई धन्यवाद दिँदै नयाँ जिम्मेवारी कल्चर मिसन पास्टरको जिम्मेवारी हस्तान्तरण गर्नुभएको छ। शाखा चर्चहरूमा र मिसनको क्षेत्रमा सेवा पुर्‍याउने जिम्मा अब पास्टर राजेन्द्र मल्लको हुनेछ। कार्ययक्रममा चर्चको सेवाको प्रतिवेदन प्रस्तुत गर्दै पास्टर राजेन्द्र मल्लले चर्चको भिजन, मिसन र बाइबलीय मुल्य र मान्यतामा रहेर सुरूको समयदेखि लिभिङ ब्यापटिष्ट चर्चले गर्दै आएको र यही अनुरूप गर्दै जाने कुरा बताउनुभएको थियो।
सन १९९५ अप्रिल ४ मा तुलासिं राईको घरमा सुरू भएको थियो। ११ जना सदस्यहरुबाट सुरू भएको संगति हाल नेपालमा एउटा ठुला चर्चहरूमै गनिन्छ। हालसम्म लिभिङ ब्यापटिष्ट चर्चबाट १३ वटा चर्चहरू र ७ वटा झुण्डहरू सुरू भएका छन्।
कार्यक्रमका वक्ता पास्टर प्रकाश सुब्बा हुनुहुन्थ्यो। सोही अवसरमा एनबिबिसीका महासचिव पास्टर बिजय थापाले शुभकामना मन्तव्य दिनुभएको र एनसिएका सहअध्यक्ष पास्टर टंक सुबेदीले शुभकामना मन्तव्य दिनुभएको थियो।
कार्यक्रमको अन्तमा पास्टर जीरमान राईले धन्यवाद ज्ञापन गर्नुभएको थियो।

Facebook Comments