हाम्रा गाउँ सहरहरु क्रिसमसको रौनकताले तातिएका छन् । घर–घरमा बत्तीहरु साँझमा चम्किरहेकाछन् । बाँस गाडेर टुप्पोमा झुण्ड्याइएको स्टारले येशू कतै यही नै पो जन्मिनुभएको हो कि भनेर झस्काइदिनसक्छ । क्रिसमस–ट्री सजाउने बेला पनि यतिखेर नै हो । साथीहरुलाई गिफ्ट र क्रिसमस कार्ड किन्दा–किन्दै हाम्रो खल्ती चिसो हुनसक्छ ।
चर्चहरुमा विशेषगरि युवाहरु बढी व्यस्त छन् । उनीहरुलाई चर्च झकिझकाऊ बनाउन र विभिन्न प्रतिभाहरुको प्रस्तुतीको तयारी गर्न ठूलो जिम्मेवारी छ । अगुवाहरुलाई पनि विभिन्न सुसमाचारीय कार्यक्रमको आयोजना गर्न अनि प्रचार गर्न भ्याईनभ्याई छ । क्रिसमसको अवसरमा आयोजना गरिने कार्यक्रहरु अनि -यालीहरुको नेतृत्व गर्नु सोचेजस्तो सजिलो पटक्कै छैन ।
क्रिसमस प्रभु येशूलाई विश्वास गर्नेहरुको मात्र नभएर सबै मानिसहरुको साझा सँस्कृति हुन पुगेको छ । चर्चहरुमा मात्र नभएर होटल, रेष्टुरेण्टहरुमा पनि यसको माहोल अर्कै छ । व्यापारीहरुको लागि पनि नाफाको दृष्टिकोणले क्रिसमस विशेष सुनौलो अवसर हो ।
विकाससँगै विकृति सर्वत्र व्याप्त छ । मासुभात टन्न खानु, रमाइलो गर्नु, गाउनु–नाच्नु यहि नै क्रिसमस हो कि भन्ने भ्रमको साझा बुझाइ सबैको छ । चर्चमा फाट्टफुट्ट मात्र देखापर्ने विश्वासीहरु पनि क्रिसमसको दिन उनीहरुकै उपस्थितिले चर्चको आधा भाग भरिने अवस्थाले यो भ्रमको पुष्टि गर्दछ । क्रिसमसको दिन नयाँ लुगा लगाउन पाइएन भने किशोर किशोरीहरु डिप्रेसनमा पर्ने सम्भावना प्रबल हुन्छ । नयाँ साडी लाउन नपाउँदा अगुवाकै श्रीमति किन नहोस्, तिनी निराश हुन सक्छिन् । जब कि क्रिसमस खानु, पिउनु र मोजमस्ती गर्नुसँग पटक्कै सम्बन्धित छैन ।
अर्कोतिर क्रिसमस विरोधीहरु पनि उनीहरुमात्र स्वर्ग छिर्ने जत्तिकै गरि यसलाई मनाउनुहुँदैन भनेर प्रचारप्रसारमा तनमनका साथ लागिपरेका छन् । तर सबैले बुझ्नुपर्ने कुरो के छ भने क्रिसमस मनाउँदैमा नर्क छिर्नुपर्ने खतराले कुनै पनि सच्चा विश्वासी त्रसित कहिल्यै हुनै सक्दैन ।
क्रिसमस धार्मिक कुरा भन्दा पनि यो एउटा सँस्कृति हो भन्ने दृष्टिकोणबाट हेर्नु जरुरी छ । यसबाट हुने प्रभूको महिमाको बारेमा गम्भीर भएर सोच्नु आवश्यक छ । बरु जीवन सकिन्छ तर विवादहरु सकिँदैनन्, त्यसैले क्रिसमसको नाममा बखेडा झिकेर विवाद थाल्नुभन्दा यसबाट हुने सुसमाचारको प्रभावको बारेमा हामी सबैले सोच्नु अति जरुरी छ, त्यसैले बहकाऊमा परेर विश्वासीले विश्वासीकै खुट्टा तानातान गर्नु भन्दा हातमा हात मिलाउनु अत्यन्तै सह्रानीय हुनेछ । किनकी क्रिसमसलाई क्रिश्चियनहरुको जीवनशैलीबाट अलग गर्नु बिल्कुल असम्भव छ । र अर्को कुरा अरुलाई बहकाउनु अर्थात् गलत बाटोमा ल्याउनु क्रिसमसको उदेश्य कहिल्यै पनि होइन ।
तर, एउटा कुरा ख्याल के राख्नुपर्दछ भने क्रिसमसको अवसरमा येशूको जन्मको सम्झना गर्ने हो; उहाँ यस धर्तीमा आउनुको महत्व यस संसारलाई बुझाउने हो । भन्नुको मतलब प्रचारको क्रममा डिसेम्बर २५ मै येशू जन्मिनुभएको हो भनेर ठोकुवा गर्ने बोलीमा चाँहि अवश्य सुधार गर्नुपर्छ । यदि कसैले ‘डिसेम्बर २५ को दिन येशू जन्मनुभएको कुरा बाइबलमा छैन; बरु यो दिन त प्राचिन समयमा सुर्य देवताको पो पूजा गरिन्थ्यो’ भन्छ भने; उसले ठिकै भनेको हुनेछ । यसर्थ क्रिसमसमा बारेमा प्रचार गर्दै गर्दा परमेश्वरले दिनुभएको विवेकको प्रयोग गरौँ ।
येशूको जन्मको महत्वलाई हामी शब्दमा व्यक्त गर्न सक्दैनौं, र उहाँको जन्मलाई नकार्न झनै सक्दैनौं । मात्र परमेश्वरप्रति यस्तो महान् प्रेमको लागि धन्यवाद भन्न सक्छौँ । किनकी उहाँले संसारलाई यस्तो प्रेम गर्नुभयो कि आफ्नो एकलौटे पुत्रलाई दिनुभयो (युहन्ना ३ः१६) । येशूमा उद्धार पाएकाहरु जो सुकै पनि भावुकतामा खुशीले हर्षाश्रु हुनसक्छन् यो अवसरमा, किनकी संसारमा मनोरञ्जन गर्न येशू संसारमा जन्म लिनुभएको थिएन । तर, छुटकाराको मोलस्वरुप मानवजातिको लागि आफ्नो प्राण दिनलाई आउनुभएको थियो ।
अब हाम्रो जिम्मेवारी यही येशू संसारमा जन्मिनुभएको उदेश्यको बारेमा अरुलाई बताउनु हो । हुनसक्छ हामीले थुप्रै हाम्रा अविश्वासी साथीभाईहरुलाई क्रिसमसको दिन चर्चमा डाकेका छौंँ, तर उदेश्य मासु भात ख्वाउन मात्र नभएर उनीहरुको जीवनमा प्रभु येशूको सुसमाचार प्रवेश गराएर उनीहरुको जीवनमा हामी कति मूल्य थप्न सक्नेछौँ भन्ने पनि हो । मूख्य कुरा यो छ, कि हामी अरुलाई सुसमाचार सुनाउनु क्रिसमस मात्र पर्खिनुपर्छ भन्ने कहिल्यै पनि होइन, हामी हरपल सुसमाचारको लागि प्रतिवद्ध हुनसक्छौँ ।
परमेश्वरले हामीलाई दिनुभएको यो महान प्रेमको उपहारको लागि उहाँलाई धन्यबाद चढाउँदै अरुलाई पनि यो प्रेमको उपहार बाँडौ । सबैलाई क्रिसमस २०१४ तथा नयाँ वर्ष २०१५ को अवसरमा सबैलाई हार्दिक शुभकामना ।