Youth Circle

मेरो अध्ययन यात्रा – प्रिजा कायस्थ

मेरो नाउँ प्रिजा हो । मेरा बुवा आमा पूर्णलाल र जमुना कायस्थ पोखरा कास्कीमा हुनुहुन्छ । म अहिले जापान टोकियोमा अध्ययनरत छु । यहाँको एक ठूलो विश्वविद्यालय टोकियो इन्सटिच्यूट अफ टेक्नोलेजीमा स्नातकोत्तर समाप्त गरेर विद्यावारिधीको निम्ति तयारी गरिरहिछु । इन्जिनियिरङको विषय भएको हुनाले पढाइ र तयारी अवश्य पनि सजिलो छैन । एकाग्र भएर पढिनँ भने कि परिश्रम गरिनँ भने जापान सरकारले उपलब्ध गराएको यो विशेष छात्रवृति बेकार हुन्छ ।

यस्तो बेलामा म मेरो स्कुले जीवन सम्झन्छु । मैले जति नै कोसिस गरे पनि म एक चित्तको हुनसक्दिन थिएँ । सानो बेलामा मैले आफैलाई एक सामान्य र औसत विद्यार्थीमात्र पाएकी थिएँ ।

त्यही समय मैले मेरा बुवाबाट प्रभु येशूको बारेमा प्रथमचोटी सुनें । म उहाँसँग चर्च जान थालें । तर त्यतिले मलाई पुगेन । मेरो मनमा उत्तरभन्दा बढी प्रश्न थियो । बाइबल पढ्नु नै अल्छी लाग्ने । सबै कुरा म बुझ्दिन थिएँ । म लज्जालु स्वाभावकी थिएँ र धेरै घुलमिल हुन सक्दिनँ थिएँ । मेरो मन अशान्त रहन्थ्यो ।

म १३ वर्षकी हुँदा मैले एउटा किशोरीहरुको तीन दिने क्याम्पमा भाग लिने अवसर पाएँ । त्यसबेला मैले प्रभु येशूको प्रेम र बलिदानको कुरालाई अझ राम्रो गरी बुझ्ने मौका पाएँ । हामी योग्य भएकोले होइन हामी अयोग्य र कमजोर हुँदा नै प्रभु येशू हामीलाई प्रेम गर्नुहुन्छ अनि आफूकहाँ आउने र सिक्ने मौका दिनुहुन्छ भनी मैले बुझ्नथालें । मैले उहाँलाई नै पछ्याउने निर्णय गरें । बाइबलको अध्ययनमा मैले मन लगाएँ ।

पछि मैले कक्षा ८ देखि १२सम्म गण्डकी बोर्डिङ स्कुलमा पढ्ने अवसर पाएँ । आर्थिक रुपले यो हाम्रो परिवारको निम्ति एउटा चुनौती थियो । मलाई त्यहाँ पढाउनलाई मेरा दाइ दिदीले मलाई सघाउन परेको थियो । उनीहरुले आफ्नो समय र अध्ययनलाई बलिदान दिएर पनि कतिकतिपल्ट मलाई यो महंगो स्कुलमा पढाउनुभयो । परिवारको स्थिति र भविष्यलाई प्रभुको चरणमा मैले सुम्पे र प्रार्थना गर्दै उहाँलाई पुकार्दै म तनमनले मेरो अध्ययनमा डुबें ।

प्रार्थनाको एउटा उत्तर यही भयो – स्कुलपछि मैले काठमाडौ इन्सटिच्यूट अफ इन्जिनियिरङको प्रवेश परीक्षा पास गर्न सके र असल नम्बर ल्याएको हुनाले सरकारको छात्रवृत्तिमा अध्ययन आरम्भ गर्न पाएँ र क्याम्पसकै होस्टेलमा बस्न पाएँ । यो मेरो लागि प्रार्थनाको उत्तर थियो । मैले जुन दिन प्रभुलाई आफ्नो जीवन चढाएँ मैले मेरो अध्ययनको खर्चहरुको बारेमा पनि उहाँलाई नै बताएकी थिएँ । मैले सन २००३ देखि २००५ सम्म स्वतन्त्र विद्यार्थी यूनियनबाट टप्पर अवार्ड उत्कृष्ट छात्रा पुरस्कार पाएँ । यही इन्सटिच्यूटको छात्रावासको उत्कष्ट छात्रा पुरस्कार पनि पाएकी थिएँ । दुई वर्ष गर्ल अफ द यिअर वर्षकी छात्रा पनि प्राप्त भयो । २००३ देखि २००६सम्म मैले छात्रावास तर्फको उत्कृष्ट पदक प्राप्त गर्न सकेकी थिएँ । अन्त्यमा सन् २००७ मा नेपाल सरकारले प्रदान गर्ने महिला इन्जिनियिरङ छात्राहरुमध्ये स्नातक तहको सर्वोच्च पदक नेपाल छात्रा विद्या स्वर्ण पदक मलाई मिल्यो । यसैको फलस्वरुप जापान सरकारको तर्फबाट मलाई २००७ देखि २०१२सम्मको निम्ति मोनबुकागाकूशो छात्रवृत्ति मिलेको छ । अन्तर्राष्ट्रिय तहका छात्रहरुसँग भिडिएर पढ्नु र स्तर कायम राख्नु मेरो लागि सजिलो छैन । धेरै परिश्रम गर्नैपर्छ ।

तर यो सबैको बीचमा मैले स्कुले बेलादेखि सुरु गरेको मेरो अनुशासन आजसम्म कायम राखेकी छु । त्यही नै मेरो सबै यात्रा अनि उपलब्धिको रहस्य हो भनी म ठान्छु । मैले प्रभुलाई मेरो परिवारको निम्ति प्रार्थना चढाएकी थिएँ मेरो पढाइको लागि पनि भनेकी थिएँ । मैले बाइबल पाठ र अध्ययनलाई कहिल्यै टुटाइनँ । बाइबलको यो पदलाई मैले सधैं मेरो सामने राखें “सारा ह्दयले परमेश्वरमा भरोसा राख् आफ्ना सारा मार्गमा उहाँलाई सम्झी आफ्नै नजरमा बुद्धिमान नहो परमेश्वरको भय मान” ।

मैले अनुभव र प्रयोगबाट थाहा पाएको कुरो यही हो कि हर बेला हर समय हामीले जीवनमा परमेश्वरको भय मान्नुपर्छ र उहाँलाई आदर गर्नुपर्छ । बाइबलको अर्को श्लोक “जसले मलाई शक्ति दिनुहुन्छ उहाँमा म सबै कुरा गर्नसक्छु” ।

यो शास्त्रमा परमेश्वर यसरी बोल्नुभएको छ – मलाई आदर गर्नेलाई म आदर गर्नेछु । म एक सामान्य व्यक्तिले जीवित परमेश्वरलाई पुकारेकी थिएँ र मेरो परिवारमा र पढाइमा आशिष् मागेकी थिएँ । तर म सधैं सचेत रहें कि मेरो तर्फबाट पनि मैले आफ्नो कर्तव्य पूरा गर्नुपर्छ । उहाँको डर भय र भक्तिमा जीवन बिताउनुपर्छ । मेरो जीवनको यो छोटो कथाले सबैलाई उत्साह मिलोस् । यो बताउने अवसरको लागि पनि पुस्तक प्रकाशकलाई धन्यवाद ।

Source: pariwartangarneshakti.com

Facebook Comments