जुवामा नारिएको गोरु

गोरु किसानहरुका लागि प्यारो हुन्छ । पहाडतिर प्रायः खेतबारी जोत्नलाई गोरु नै प्रयोग गरिन्छ । गोरु हिँड्न नै नमिल्ने गराहरुमा मात्र मानिस आफैँले खन्नुपर्छ । खेतबारी जोतिसकेपछि बल्ल हामी बीऊ छर्ने काम गर्छौँ; आखिर जुनसुकै बीऊ किन नहोस् । तिनै खेतबारीबाट उब्जाऊ भएको अन्नले वर्षदिन सम्म खानेकुराको जोहो गर्ने हरेक किसानको चेष्टा हुन्छ । यसर्थ, जोत्ने गोरुको देन अति महान् छ, कृषिप्रधान देश नेपालका पहाडी कृषकहरुका लागि । गोरुको बारेमा बाइबलमा पनि यस्तो पद छः ‘जहाँ गोरुहरु हुँदैनन् त्यहाँ ढिकुटी खाली रहन्छ, अनि गोरुहरुको बलले नै प्रशस्त अन्न उब्जिन्छ’ (हितोपदेश १४ः४)

बहर गोरुलाई दाउन त्यति सजिलो छैन । सरासर मेलोमा जाने बनाउनु किसानलाई ठूलो समस्या हुन्छ । गोरु आफै पनि मालिकको इच्छा अनुसारको बनिन धेरै पीडा सहनुपर्ने हुन्छ । यदि गोरु बोल्न सक्ने भए; उसको सुरुवाती दिनमा जुरोमा जुवाले दिने पीडाको वर्णन अति मार्मिक अवश्य हुने थियो । दाउने बेलामा उल्टो–पुल्टो हिँड्दा थुप्रै चुटाई भेट्छ गोरुले । कहिलेकाँही हिँड्न नसकेर बसिदिँदा र लौरोले चुट्दा पनि नउठेपछि बहर गोरुको नाकमा आगोले पोलिदिने सम्मको हर्कत मैले देखेको छु, ताकि गोरु उठेर हिँडिदेओस् ।

यस्तो कठोर तालिमपछि गोरु बल्ल जोत्नको लागि योग्य हुन्छ । अनि मालिकको प्रिय बन्छ । मालिकसँगै लेक–बेँसी धाउँछ । उसको स्वास्थ्यको सबै जिम्मा उसको मालिकले लिन्छ । उचित समयमा घाँस खान पाउँछ, खोले खान पाउँछ । मानिसको लागि एउटा कामलाग्ने अनि नभइहुने जनावर हुनु गोरुको लागि कति महिमाको कुरा हो वा भनौँ परमेश्वरले ठह-याइदिनुभएको उसको आनन्दको भाग यहि नै होला । यस्तो गोरुको मृत्युमा मालिक भावविह्वल हुन्छन् । गाड्नु वा गिद्धको अगाडि फाल्नु अगाडि मालिकले त्यो गोरुको बडो राम्रो तारिफ गर्छन् ।

अब अर्को त्यसै छाडिएको साँढे गोरुको कुरा पनि गरौँ । स्वतन्त्र गोरु । जुवा नभएको गोरु । मालिक पनि छैन । वास्ता गर्ने पनि छैन । गर्नुपर्ने काम पनि केहि छैन । जता मन लाग्यो, त्यतै गयो । पाउँदा घाँस खायो, नपाउँदा भोकै वा प्लाष्टिक खाँदै हिँड्यो । डुल्दै जाँदा कहिलेकाँही अर्काको बारीको बाली खान पुग्छ । फेला परेन त ठिकै छ, फेला प-यो कि त लौरोको चुटाई दह्रो भेट्छ साँढेले । घाऊचोट लाग्यो भने स्याहारसुसारको केहि सुविधा हुँदैन यस्तो गोरुलाई । देशको द्वन्द्वको समयमा कति यस्ता गोरुहरु त हाम्रा दाजूभाइहरुले तरकारीको रुपमा प्रयोग गरे रे भन्ने पनि सुनियो । खास कुरो आफ्नै ठाऊँमा छ ।

हाम्रा पाष्टर बुबाले सुनाउनुभएको एउटा साँढे गोरुको छोटो कथा यहाँ प्रस्तुत गर्न चाहन्छु । कुनै समय पथरी (मोरङ्ग) तिर एउटा साँढे गोरु थियो । हेर्दा बलियो अनि डरलाग्दो । मान्छे नजिन पुग्नै नहुने, झम्टेर हान्न जाने । त्यो गोरुलाई कसैले मन पराउँदैनथ्यो । सबैको आँखाको कसिङ्गर बनेको थियो त्यो साँढे गोरु । उपद्रो केटाहरुले टाढाबाट मौका पर्दा त्यो गोरुलाई ढुङ्गाले हान्ने गर्थे । हुँदाहुँदै एकदिन कसैले ढुङ्गाले हानेर उक्त गोरुको एकपट्टीको आँखा फुटाइदियो । कानो भएको साँढे गोरुको स्वभाव त उस्तै थियो तर दिन प्रतिदिन कमजोर हुँदैगयो । बजारहरु हुँदो गोरुलाई गरिने दुर्ब्यवहार बढेर गयो । आँखा फुटेको साइडबाट जोकोही गोरुकै छेऊ पुग्दापनि गोरुले केही पत्तो पाउँदैनथ्यो । मानिसहरुले झन् ‘मलाई तर्साउने, हान्ने गोरु तैँ होइनस्’ भन्दै हिर्काउने, ढुङ्गाले हान्ने गरे ।

पछि अचानक कसैले त्यस गोरुको अर्कोपट्टीको आँखा पनि फुटाइदियो । त्यसपछि गोरुको दयनीय दिनहरुको सुरुवात भयो । केही खान–पिउन पनि सकेन । भौकै–तिर्खै, हड्डी र छाला मात्र भएर गोरु केही दिन यताउता डुल्यो । अन्त्यमा उक्त साँढे गोरुको बडो कारुणिक तवरले मृत्यु भयो । गल्लीका कुकुरहरुले उसको मासु लुछे ।

अब एकछिनलाई मानौँ कि हामी पनि गोरु नै हौँ  रे ! अब कुन गोरुको जीवन उत्तम होला ? एउटाको मालिक छ । मालिकको खटनमा अनुशासित छ र प्रायः जुवामा नारिएर खेतबारी जोत्नुपर्छ । अर्को चाँहि साँढे गोरु; जसलाई बाटोमा छोडिएको छ । मालिक पनि छैन र जुवा पनि छैन ।

अब बाइबलबाट केही कुरा हेरौँ । प्रभु येशू भन्नुहुन्छ– ‘मेरो जुवा आफूमाथि लेओ, मसँग सिक, किनभने म विनम्र र कोमल हृदयको छु, अनि तिमीहरुको आत्मामा विश्राम पाउनेछौ । किनकि मेरो जुवा सजिलो छ, र मेरो भारी हलुको छ’ (मत्ती ११ः२९–३०)। प्रभु येशूको जुवा लिनुको एउटा अर्थ चाँहि यो हो कि हामी उहाँको आज्ञामा रहेर अनुशासित जीवन जिउनु र उहाँसगै जिउनु । उदेश्य यहि हो कि हामीमा प्रभु येशूको स्वरुपको वृद्धि भईनैरहेको होस् । ‘बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बिँड’ भनेजस्तै उहाँको प्रेम चाखि सकेकाहरुलाई उहाँको जुवा साँच्चै नै हलुको लाग्नेछ, सजिलो लाग्नेछ ।

आज हामी जवान साथीभाईहरुले विचार गर्नुपर्ने कुरा यो छ कि के हामी प्रभु येशूको जुवामा नारिएका छौँ ? प्रभु भन्नुहुन्छ ‘मसँग सिक’ । के हामी तयार छौँ उहाँसँग सिक्नलाई ? हो, हुनसक्छ हामी नयाँ बहर गोरुझैँ पाको नहुन सक्छौँ । तर हाम्रो जुवाको अर्कोपट्टी पाको प्रभु येशू हामीसँगै हिँड्दैहुनुहुन्छ ।

यसैले पनि हामीमा केहि विनम्रताको विकास गर्ने प्रयास स्वयम्ले पनि गर्नैपर्छ यद्यपि सबैकुराको श्रोत प्रभु येशू नै हुनुहुन्छ । साधारण मानिसहरुजस्तै हामी पनि रिस, डाह, निन्दा, क्रोध र इष्र्यामा जिउँदैछौँ भने कसरी आफू येशूको जुवामा नारिएको छु भनेर भन्नसक्छौँ र ? कतिपय अवस्थाहरुमा मण्डलीका अगुवाहरुले नयाँ पिढीका युवाहरुको नयाँ विचारहरुलाई सम्बोधन गर्ननसकेको र भावनाहरुलाई नबुझिदिएको पक्कै हुनसक्दछ । तर यसको अर्थ आफ्नो जुवाबाट तर्किजाने बहाना बनाउनु पटक्कै होइन । बरु बाइबलले त अझ यसो भन्छः ‘चुपचापसँग परमप्रभुको बाटो हेर्नु असल हुन्छ । आफ्नो युवावस्थामा नै जुवा बोक्नु मानिसलाई असल हुन्छ । परमप्रभुले यो त्यसमाथि राख्नुभएकोले त्यो एक्लै शान्त बसोस् । त्यसको मुखले भूइँ छोओस्, यसरी अझै आशा होस्’ (विलाप ३ः२५–२९)

जवान मित्रहरुको जीन्दगीको योजना अवश्य धेरै होलान् । धेरै पढ्ने, पैसा कमाउने, संसार घुम्ने, रमाइलो गर्ने, प्रख्यात हुने आदि–इत्यादि । तर ‘बैंसको बेलामा, होश बिनाको जोशमा’ प्रभु येशूसँगको जुवा एकातिर हुत्याएर साँढे भई कतै फेला नपर्नुहोला । देखा नपर्नुहोला । म पनि त्यसो गर्दिन । तपाईहरु पनि त्यसो नगर्नुस् । आजलाई यति, धन्यवाद ।

Facebook Comments