दाउदले शाउलको ज्यान छोडिदिए

परमप्रभुको अभिषिक्त जनमाथि हात उठाउनु पाप हो ।

१ शमुएल २४:१-२२

बल्ल बल्ल आफ्नो शत्रु माथि बदला लिन पाएको मौकालाई कसले छोड्छ ? मानिसहरु त आफ्नो शत्रुसँग बदला लिने मौका पर्खिरहेका हुन्छन् । तर दाउदले त्यस्तो मौका कहिल्यै खोजेनन् । पाएको मौकालाई प्रयोग गर्नु पनि उनले अपराध ठाने । त्यसैले आफ्नै प्राण लिन खोज्ने शत्रुले पनि दाउदको प्रशंसा गरे र भने, “तिमी म भन्दा धर्मी मानिस रहेछौ । …अब मलाई यो थाहा भयो कि तिमी निश्चय नै राजा हुनेछौ । इस्राएलका राज्यले तिम्रो शासनमा उन्नती गर्नेछ (१७-२० पद) ।”

शत्रुको ब्यवहार देख्दा हामीलाई अवस्य रिस उठ्छ । तर के हामी शत्रुमाथि बदला लिएर आफै पतित हुने ? कि परमेश्वरलाई आफ्नो काम गर्न दिने ? पावल लेख्दछन्, “प्रिय हो, आफैले कहिल्यै बदला नलेओ, तर परमेश्वरको क्रोधमा छोडिदेओ । किनभने, लेखिएको छ, ‘बदला लिने काम मेरो हो, म नै बदला लिनेछु’ परमप्रभु भन्नुहुन्छ । बरु, ‘तिम्रो शत्रु भोकाएको छ भने त्यस्लाई खुवाओ, त्यो तिर्खाएको छ भने त्यसलाई पानी देओ (रोमी १२:१९-२०) ।'” ब्यवस्था ३२:३५ र हितोपदेश २५:२१-२२ को यस वचनलाई दाउदले बुझेका थिए । त्यसै अनुसार उनले काम गरे र धर्मी ठहरिए । हाम्रा शत्रुहरुका आँखामा धर्मी ठहरिन आज हामीले कस्तो ब्यवहार गर्नुपर्ला ? धेरै विश्वासीहरुले यो कुरा बिचार  गर्दैनन् । उनिहरु आफ्ना शत्रुहरुसित झगडा गर्छन् र बदनाम हुन्छन् । हामी त्यस्ता नहोउँ ।

तिम्रो शत्रु पनि भोकाएको भए उसलाई भोजन देऊ र तिर्खाएको भए पानी देऊ। यदि तिमीले यसो गरयौ भने त्यो मानिस लाजमा पर्नेछ । यो उसको टाउको माथि बल्दै गरेका कोइलाहरू राख्नु बराबर हो अनि परमप्रभुले तिम्रो क्षतिपूर्ति गर्नु हुनेछ । (हितोपदेश २५:२१-२२)

प्रार्थना: प्रभु येशू, मेरा शत्रुहरुसित झगडा गर्ने होइन तर तिनिहरुलाई क्षमा दिएर मित्रवत व्यवहार गर्न सिकाउनुहोस् ।

साभार: दैनिक ज्योति

Facebook Comments