युवा जोशलाई उत्प्रेरणा दिने तत्व

“आफ्नो युवावस्थामा नै जुवा बोक्नु मानिसलाई असल हुन्छ ।” –(विलाप ३:२७)

बाइबललाई जीवन निर्देशन गर्ने र उद्देश्य प्रेरित जीवन जिउन सिकाउने पुस्तकको रुपमा बुझेका ख्रीष्टियान लक्का जवानहरुले यही वचनको आधारमा परमेश्वरको सामु चर्च अनि चर्चको हरेक गतिविधिहरुमा आफूलाई झुकाएका छन् । परमेश्वरको राज्य विस्तारमा आफूलाई नारेका छन् । भलै त्यो अरुका लागि फाइदाजनक नदेखियोस्, तर यी सबैको लेखा परमेश्वरले अवश्य राख्नुहुनेछ ।

यिनै विश्वासको आधारमा चर्चमा जवानहरुले गितार भिरेका छन्, ड्रमको स्टीक समाएका छन्, बाइबल काखीमा च्यापेर विभिन्न सु–समाचारीय कार्यक्रमहरुमा, जागृति सम्मेलनहरुमा भाग लिएर मण्डलीहरुलाई अतुलनीय सहयोग पुर्याउदै आएका छन् । तिनै जवानहरु मध्येबाट भोली चर्चका पाष्टरहरु, अन्य जातिहरुलाई ख्रीष्टको चेला बनाउने शिक्षकहरु, परमेश्वरको उपस्थितिसम्म पुर्याउने आराधकहरु हुनेछन् । यिनै मध्ये कोही शैक्षिक तथा आर्थिक क्षेत्रमा ठूलो फड्को मारेर मण्डलीको एक अंग भएर बाँच्नेछन् । यस अर्थमा ‘जवानहरु मण्डलीका खम्बा हुन्’ भनेर सम्बोधन गरिन्छ भने त्यो वाक्यांश ‘अकबरी सुनलाई कसी लाउनु पर्दैन ’ भने जत्तिकै आफैंमा अति सुन्दर र सार्थक छ । यसैले ख्रीष्टिय जवानहरु मण्डलीका दुर्लभ रत्नहरु हुन् ।

परमेश्वरले यहोशूलाई भन्नुभयो–‘बलियो र खुब साहसी बन् ।’ (यहोशू १:६)। किनकी इस्रायलीहरुलाई नेतृत्व गर्नको लागि मोशाको मृत्यूपछि मोशाको काँधको जुवा परमेश्वरले यहोशूको काँधमा सार्दै हुनुहुन्थ्यो । यसरी नै चर्चका नेतृत्वका जिम्मेवारीहरु स्वत: युवाहरुको काँधमा ठोकिन आउनेछन् । यसलाई यत्तिकै भुइँमा ढल्न नदिनु तर थामिराख्नु वर्तमान युवाहरुको कर्तव्य र चुनौति हो । पावलले आफ्नो पत्रमा उल्लेख गरेका छन्–‘जोशमा पछि नहट ।’ युवाहरु स्वभावैले जोशिला हुन्छन् । चाहेको काम पूरा गर्न कुनै पनि तवरले पूरा गर्न सक्षम हुन्छन् । युवा जोशलाई रोकेर रोक्न सकिँदैन । यसलाई नियन्त्रण गर्न खोज्नु हत्केलामा आगो राख्नु जत्तिकै हो । बरु यसलाई सदुपयोग गर्न सकिन्छ । जसरी पावल आफैं विश्वासीहरुलाई गिरफ्तार गर्दै जेलमा कोच्याउने एक साहसी र जोशिला व्यक्तिलाई प्रभूले एक महान् व्यक्तिको रुपमा खडा गराउनुभयो ।

युवाहरु कहींकतैबाट प्रेरित हुन्छन् । तिनीहरुले गर्दै गरेका हरेक कामहरुमा तिनीहरुलाई कहींकतैबाट कसैको प्रेरणा मिलिराखेको हुन्छ । चाहे त्यो असल होस् वा खराब होस् । एकजना युवक, जो एक प्रचारकको छोरा थिए । उनका पिता प्रभूमा सुत्नुअघि मृत्यूशैय्यामा बर्बराउँदै भन्दै थिए: ‘….मैले अझै एकजना मानिसलाई बचाउनु छ, सुसमाचार सुनाउनु छ ।’ आफ्नो पिताको मृत्युलाई आफ्नै अगाडि नियालेका यी युवक, बुवाको अन्तिम शब्दहरु सुनेपछि आफ्नो सारा जीवन परमेश्वरमा अर्पण गर्ने अठोट गरे । बुवाको तिनै अन्तिम शब्दहरु उसको जीवनभरि परमेश्वरका मानिसहरु माझ सेवा गर्ने प्रेरणाको स्रोत बन्यो । उनी हुन्, प्रभुका दास चर्चित अमेरिकी प्रचारक तथा ‘उद्देश्य प्रेरित जीवन’ जस्तो महान पुस्तकका लेखक रिक वारेन ।

त्यो सुनसान रातमा येशू बडो कष्टको साथमा प्रार्थना गर्दै हुनुहन्थ्यो, जतिबेला उहाँका चेलाहरु मस्त निन्द्रामा थिए । यहुदा इस्करियोत, जो येशूका एक चेला थिए, तिनी सिपाहीहरुको ठूलो भीडसित त्यस गेतसमनी बगैंचामा पुगे, जुन रातमा येशू त्यहाँ हुनुहुन्थ्यो । यहुदा अघि बढे, येशूलाई चुम्बन गरे । यो एउटा षड्यन्त्र स्वरुप तय गरिएको येशूलाई चिन्ने चिन्हको रुपमा थियो । यसरी येशू पक्राऊ पर्नुभयो । यद्यपि यी सबैमा परमेश्वरको सुनियोजित काम हुनसक्छ, तर आममानिसको धारणाबाट बुझ्ने हो भने, यहुदालाई त्यहाँसम्म डोर्याउन शास्त्री र फरिसीहरुबाट पाएको चाँदीको तीस सिक्काको टुक्राले अभिप्रेरित गरिराखेको थियो ।

म चिन्दछु, एउटा मण्डलीलाई । जहाँ एक समय जवानहरुले देखाएका जोशले मण्डलीमा परमेश्वरको ठूलो जागृति आएको महशूस गर्न सकिन्थ्यो, अन्ततः त्यो एउटा भ्रममा परिणत भयो । जवानहरुको उपस्थितिले संगति भरिन थाल्यो । अन्य अख्रीष्टियन जवानहरुको उपस्थिति बाक्लिँदै गयो, त्यो विश्वासी जवानहरुले अविश्वासी साथीहरुलाई चर्चसम्म ल्याउने जिम्मेवारी हुन्छ भन्ने सवालको प्रतिउत्तर थियो । तर, समयको अन्तरालमा एक जना भाइको विवाहको कारणले तीनजना बहिनिहरु संगतिबाट हराए । एक बहिनिको विवाहको कारणले अरु चारजना भाइहरु संगतिबाट कुलेलाम ठोके । अन्तमा बाँकी रहे संगतिमा बालबच्चा, बुढाबुढी, आमाबुवाहरु र दोधार र भ्रममा पेन्डुलमझैं हल्लिरहेका केही जवानहरु । तर, परमेश्वरको अनुग्रहमा परिस्थिति अहिले बदलिएको छ । सेवकाईमा परमेश्वरले खडा गर्नुभएको मण्डली अझ स्थिर छ । प्रसंग यो हो कि, जवानहरुलाई उत्प्रेरणा दिने तत्व परमेश्वरबाट थिएन । हामीले गरेका कामहरु परमेश्वरबाट प्रेरित हुनुपर्दछ । बाइबल परमेश्वरको प्रेरणाबाट लेखिएको थियो । जसले सदाको लागि जीवन र मृत्युको भेद छुट्याइरहेछ । हामी जुन रुपमा अगाडि बढिराखेका छौं, हामीलाई पछाडिबाट धकेल्ने तत्वहरु के-के हुन् ? पहिल्याउन अत्यावश्यक छ । असल देखिएका कुराहरुको परिणाम कालान्तरमा खराब देखापर्न सक्छ । युवाहरुले प्रस्तुत गर्दै गरेको कामको परिणाम वर्षौंपछि पनि कस्तो होला ? भन्ने अनुमान र निश्चय गर्नसक्ने समझशक्ति परमेश्वरले सबैलाई दिनुभएको छ, भन्ने कुरामा म विश्वास गर्छु ।

Facebook Comments