छुटकारा सम्भव छ – परशुराम गिरी

फाइट, ग्याङग् फाइट, रक्सी, जाँड, जुवा, खराब संगत, मेरो निम्ती दिनदिनै सामान्य कुरो बन्दै थियो। एस.एल.सी को रिजल्ट निस्केको दिन म सपनाबाट बिउँझीएँ। खेलाँची होइन भन्ने सत्य मेरो वरिपरि ठुला ठुला अक्षरमा कोरिएको देखें। म आत्तीएँ। विपनाका कठोर वास्तविकता, मस्त सपनाक हल्का ठट्यौलीहरुसँग पतक्कै मिलेनन्। अब के गरौं, कता जाउँ, भनी अलमल्ल परेको बेलामा एुटा साथीले मेरो हातमा नाईट्रोजन ट्याब्लेट थमाइदियो। मैले त्यो चक्की मुखमा हालें। अहिले फर्केर हेर्दा साथी होइन त्यो वय्क्ती (आन्जानमा) मेरो जीवनको सबैभन्द ठुलो शत्रु थियो। एस.एल.सी. फेलको पिदालाई शान्ता गर्ने त्यो चक्की, त्यो क्षण, त्यो उपाय मेरो जीवनलाई विनाशतिर डोर्याउने प्रथम कदम थियो। एस.एल.सी.मा फेरि बल गरेर म पास हुनसक्थें। तर त्यो दिनले मेरो हातमा पन्ध्र वर्ष लामो हतकडी लगाइदिएको थियो। मलाई थाहा भएन। युवा पाठकहरूलाई यो लेखको सुरुमा नै म सचेत गराउन चाहन्छु। एक छिनको ठट्टा, आनन्द र हाँसोको बेलामा साथी, संगीले दिएको सानो, चक्कीको मज्जाभित्र, जेल, अस्पताल, बदनामी र भिखारीपन अनि अन्त्यमा बेइज्जतीपूर्ण मृत्यु लुकेर बसेको हुन्छ। त्यो पहिलो, सानो गल्तीबाट नै आफूलाई बचाउनुहोस्।

आठ, नौ कक्षादेखि मैले रक्सी, जाँडको सेवन अलिअलि सुरु गर्न थालें। कस्तो होला? के होला? भन्ने किशोर जिज्ञासाको खुल्दुली ममा पनि थियो। त्यही बेलादेखि खैनी, चुरोट पनि मेरो जीवनको आङ्ग बन्नथाल्यो।

पन्ध्र वर्ष लागुपदार्थको कुआदत बोकेर हिँडेका दिनहरू आज मलाई पत्यारै लाग्दैन। म वास्तवमा एक जिउँदो लास बनेका दिनहरू फेरि फर्काएर ल्याउन र सुधार गर्न सक्दिनँ। प्रथमपल्ट त्यो ट्याब्लेटले मलाई आकाश गंगाको यात्रा गराएको थियो। म हारेको छैन, असफल भएको छैन, म त राजा हुँ। आकाशको उज्वल तारा, धरतीको हिरो भन्ने सोच त्यो ट्याब्लेटले मभित्र जगाइदियो। कस्तो होला ड्रगले पैदा गर्ने भ्रम र धोका।

टाईप हेरेडान्सबारहरूमा पस्दा म आफूलाई त्यसैको मालिक सम्झन्थें। खान्थें, पिउँथें मोज गर्थें अनि तिर्ने पैसा नहुँदा, नयाँ जुत्ता, कपडा खोसिँदा म अरकच्च पर्थें। ड्रग्स गलत हो, यसले मलाई खत्तम बनाउँदैछ र मैले यसलाई छोड्नुपर्छ भनी म सोच्थें, निर्णय गर्थें, कतिबेला? जब प्रहरीको कुटाइ खाइसक्थें, चिसो हिरासतमा पस्थें। २२ चोटी हिरासतमा परें अनि दुईचोटी महिनौंको जेल सजायँ भोगें। त्यस किसिमको नतिजामा पुगेपछि आँखा खुलेको जस्तो हुन्थ्यो। तर मौका मिल्ने बित्तिकै म लागुपदार्थको खोजीमा दौडन्थें। त्यो मेरो मालिक बनेको थियो, म त्यसको कमारो। मैले घरबाट नबेचेको कुनै कुरो छैन। चोरी, डकैती, धम्की, खुकुरीको सहारा लिएर म पैसा जम्मा गर्थे, हप्ता उठाउँथें ।

पछि हालत एकदम बिग्रेर गयो। तन्त्रमन्त्रको कुरामा खेलबाड गर्दा मेरो जीवनको रहल आशा गर्लम्म ढल्यो। म पशुपतिमा तेस्र्याइयेका चिसा लासहरूसंग हाँस्ने, जिस्किने गर्न लागें। जोगीहरूसंग रातभर जाग्राम बस्थें। त्यसबेला मसंग कुनै अर्को व्यक्तिको उपस्थिति म थाहा गर्थें। त्यसले घरी म भित्र, घरी म बाहिरबाट मलाई नियन्त्रण गर्दैछ भन्ने कुरो म महशुस गर्थें। त्यो राम्रो आत्मा होइन। मलाई तमासा बनाउने र मलाई सर्वनाश गर्ने भूतको आत्मा हो भनी म अहिले थाहा पाउँछु। मैले चोरेर सुन बेचेको छु र फलाम पनि बेचेको छु। अन्तिम अवस्थामा मेरो जिउ नै बेच्न पाए हुन्थ्यो भन्ने अवस्थामा पुगिँदो रहेछ। त्यो कुनै ठूलो कुरो हुँदै होइन। शरीर दिनरात प्यासमा चिच्याइरहन्छ। जीवनमा अर्को कुनै चाहना हुँदैन। तीन मिनेट, आठ मिनेट, एक घन्टा लठ्ठ हुनपाउनु नै उसको स्वर्ग हो, लक्ष्य हो। जसको निम्ति कोही आफ्नो जन्मदाता बाबुआमामाथि हतियार उठाउन पनि पछि पर्दैन। अन्तिम समयतिर मेरा आफन्तहरूमा त्यो डर पसिसकेको थियो। म टोलको प्रसिद्ध र अति घृणित बौलाहा भैसकेको थिएँ।

म आज ठीक भएको छु र राम्रो काम समालेको छु। मेरो विवाह भयो। असल श्रीमतीले मलाई साथ दिएकी छिन्। हाम्री छोरी छे। उसको हाँसो र बोलीले मलाई जीवनमा नै ठूलो जोश र जाँगर दिन्छ। एुटा निवास स्थान पनि जोडियो। आफ्नो घरभित्र र मोटरसाइकलमा सपरिवार कतै पुग्दा पनि म धेरैचोटी झस्कन्छु। पहिलेको अन्धकार, पागल संसारको म र अहिलेको उज्यालो संसारमा बॉचिरहेको म, त्यही मान्छे हो कि होइन भनी सोच्न लाग्छु। नालीतिर, सडकतिर सुत्ने, चिहान र चित्तालाई आफ्नो क्रिडास्थल बनाएर घुम्ने पागल, पशुदेखि म कसरी सुकिलो, सफा र सामान्य मानिस बन्न सकें?

यसको उत्तरमा म एक व्यक्तिको नाउँ लिन चाहन्छु। उहाँ हुनुहुन्छ राममाया भाउजू। मेरी आफ्नै भाउजू होइनन् तर आफ्ना, आफन्तले भन्दा ठूलो काम उहाँले मेरो जीवनमा गर्नुभयो। मलाई येशू चिनाउनुभयो र मेरो लागि प्रार्थना गरिदिनुभयो। जब मेरो छेउमा समेत कोही पर्न चाहँदैन थिए राममाया भाउजूले ठोकुवा गर्नुभयो प्रभुले मलाई ठीक गर्न सक्नुहुन्छ, निको पार्न सक्नुहुन्छ। उहाँको अनुरोधमा म चर्चमा गएँ। कुराहरू ठीकै लाग्यो। येशूमा विश्वास गर्नुहोस् हामी प्रार्थना गर्छौं, निको हुन्छ भनी उहाँ भन्नुहुन्थ्यो। म चर्च, बाइबल अनि क्रिस्चियनहरूको नजीक पुगें। त्यो सबले मलाई राहत मिलेन। किनभने पुरानो जीवनका जान, अन्जान, पाप अपराधले मेरो मनलाई सधैं पोलिरहन्थ्यो। एकातिर प्रार्थना गरिन्थ्यो मेरो लागि, अनि अर्कोतिर म नै लागुपदार्थको सहारा पनि लिने गर्थें।

अन्त्यमा म सुधार गृहमा गएँ। त्यहाँ मेरो उपचार सुरु भयो। त्यसबेला मेरा आँखा खुले। मेरो समस्या मैले नै थाहा पाएँ। बाइबलको पुस्तक यशैया १ अध्यायको १८मा यस्तो लेखिएको छ, “तेरो पाप सिन्दुरे रङ्गको भए पनि त्यो हिउँजस्तो सेतो हुनेछ”। मेरो दोषी विवेकले जहिले पनि मेरो पापमय विगतलाई ब्यूँझाइरहेको थियो र मलाई अशान्तिको खाडलमा जाकेको थियो। यति धेरै अपराध गरियो, यति मान्छेलाई रुवाइयो, म कसरी ठीक हुनसक्छु? कसले मलाई क्षमा गर्न सक्छ र? भनी प्रशन गरिरहेको बेलामा मलाई बाइबलको यो वचनले मद्दत गर्‍यो। परमेशवरको यो वचनमा मैले थाहा पाएँ, मेरो लागि आशा छ। म कुहिएको, सडेको सागपात होइन। मलाई फ्याँकिहाल्नु पर्दैन। परमेशवर नै मलाई मौका दिन तयार हुनुहुन्छ भन्ने यो वाक्यले मलाई नयाँ शक्ति दियो। म उहाँमाथि पूरा भरोसा गर्न तयार बनें। मैले मेरो सबै पाप उहाँको अघि ल्याएँ र क्षमा मागें। उहाँले मलाई धुनुभयो, पखाल्नुभयो। उहाँले आफ्नो वचन राख्नुभयो। जीवनका दोषयुक्त सम्झनाहरूबाट मलाई छुटकारा मिल्यो।

आज ड्रग्स दुव्र्यसनीहरूको माझमा काम गर्दा म यही कुरा सबैलाई सम्झाउँछु। येशू प्रभुलाई काम गर्न दिनुहोस्, बाइबलको वचनलाई गम्भीर रूपमा लिनुहोस्। त्यो वचनमा तपाईलाई परिवर्तन गर्ने शक्ति छ। शरीरको उपचार र मगजको उपचार आफ्नो ठाउँमा छ। तर सम्पूर्ण व्यक्तिको भित्रदेखि बाहिरसम्मको उपचारचाहिँ येशू प्रभुको हातमा छ। उहाँ हाम्रो सृष्टिकर्ता हुनुहुन्छ। यो कुरो मैले थाहा पाएँ अनि यसको जीवित उदाहरण मै हुँ। अनुभवले ढॉट्न सक्दैन। बाइबलमा बारम्बार हाम्रो शरीर र जीवनलाई बहुमूल्य भनिएको छ। प्रभु येशूले मलाई जस्तै तपाईलाई अनि सबैलाई व्यक्तिगत माया गर्नुहुन्छ। उहाँले क्रुसमा थोपा, थोपा रगत बगाएर हाम्रो पाप धुनु भएको छ। उहाँमा छुटकारा सम्भव छ।

Source: Power to Change Nepal

Facebook Comments