राजधानीमा इष्टर महोत्सव २०७४ विभिन्न स्थानमा भव्यरूपमा सम्पन्न

Photo: Kumar Bista

ललितपुर- चैत्र १८, येशू ख्रीष्ट मृत्यूबाट तीन दिनपछि जीवित हुनुभएको हो भन्ने घटना धेरैलाई दन्त्य कथा जस्तो मात्रै लाग्न सक्छ। तर येशू ख्रीष्टमा विश्वास गर्नेहरूले बाइबलमा भनिए अनुसार जीवित हुनुभएको प्रमाणहरूलाई दावी गर्दै संसारभरि सुसमाचार फैलाउँदै आएका छन्। पछिल्लो समयमा कति ख्रीष्‍टयनहरूले खासै प्रचार प्रसारमा जोड नदिएतापनि धेरैजसो चर्चहरू आफ्नो स्थानहरूमा येशू ख्रीष्टको पुनरुत्थानले येशूमा अनन्त जीवन, शान्ति, उद्धार र मुक्ति छ भनि घोषणा गर्दै आएका छन्। यही सन्देश आज इष्टर सन्डेको दिनमा नेपालमा पनि विभिन्न चर्चहरूमा, स्थानहरूमा येशू ख्रीष्टले आफ्नो रगत सारा मानिसहरूको पापको लागि बगाउनुभएको घटनालाई स्मरण गर्दै येशू ख्रीष्टको बारेमा नसुनेकाहरू र विश्वास नगरेकाहरूलाई सुनाउने कार्य गरेका छन्। कतिले चर्चमा प्रार्थना मात्रै गरेका छन् भने कतिले विभिन्न कार्यक्रम पनि राखेर मनाएका छन्।

येशू ख्रीष्टले दिनुभएको महान आज्ञा “सबै देशका जातिहरूलाई चेला बनाओ…” लाई चर्चहरूले पूरा गर्ने कुरामा जोड दिन्छन्। ईसाइ धर्म अर्थात येशूको सन्देश सबै ठाउँमा नपुगोस भनि संसारमा रोक्नको लागि धेरै प्रयास गरिए। तर पनि येशू ख्रीष्‍टलाई व्यक्तिगत रूपमा विश्वास गर्ने मानिसहरूको संख्या त्यतिकै बढ्दै गएको तथ्याङ्‍कमा देखिन्छ। पुनरूत्थान महोत्सवको सन्देश भनेको नै येशूमा विश्वास गरेपछि मात्रै उद्धार, मुक्ति र अनन्त जीवन पाउन सकिन्छ भन्ने हो।
यसपटक काठमाडौं उपत्यकामा मात्रै चारवटा विभिन्न स्थानहरूमा संयूक्तरूपमा पुनरूत्थान महोत्सव २०७४ सम्पन्न भएका छन्। काठमाडौं र ललितपुरका केही चर्चहरुको संयुक्त आयोजनामा विभिन्न स्थानबाट पैदल यात्रा गरी खुला मञ्‍च रत्‍नपार्कमा भेला भएर संयूक्तरूपमा पुनरूत्थान महोत्सव २०७४ मनाएका छन्। पुनरूत्थान महोत्सवका वक्ता पाटन क्वाइनोनिया चर्चका पास्टर डा मंगलमान महर्जन हुनुहुन्थ्यो। यसपटकको संगित झुण्डमा क्वाइनोनिया चर्च र अरू चर्चका सदस्यहरू मिलेर आराधना स्तुति प्रशंसामा डोर्‍याउनुभएको थियो। संयुक्त चर्चहरूको आयोजक समितिका अध्यक्ष डा सिमोन पाण्डेको अध्यक्षतामा महोत्सव सम्पन्‍न भएको थियो। महोत्सवमा चर्चित गायिका अन्जु पन्तको गीत गाउनुभएको थियो।

त्यसैगरी पेप्सीकोला, कोटेश्वर, जडबुटी क्षेत्रका लगभग २२ वटा चर्चहरूको आयोजनामा पुनरूत्थान महोत्सव सम्पन्न भएको छ। महोत्सवका वक्ता रेभ पास्टर दिलीप क्षेत्री हुनुहुन्थ्यो। यो पुनरुत्थान महोत्सव नव जागृति पास्टर तथा अगुवा संगतिले आयोजना गरेको थियो।

भक्तपुरमा पनि भक्तपुर ख्रीष्टियन समाजको आयोजनामा विभिन्न क्षेत्रबाट पदयात्रा गरी खुला मैदानमा भेला भएर पुनरूत्थान महोत्सव मनाएका छन्। महोत्सवका वक्ता पास्टर चन्द्र श्रेष्‍ठ हुनुहुन्थ्यो। लगभग ५० वटा चर्चहरुको सहभागिता भएको कुरा पास्टर मित्र सुनुवारले जानकारी गराउनुभएको छ।

काठमाडौं जिल्लाकै उत्तरीभेग बुढानिलकण्ठ क्षेत्रमा एक पार्टी प्यालेसमा शालोम संगति नेपालद्वारा आयोजना गरि पुनरुत्थान महोत्सव मनाएका छन्। कार्यक्रममा स्थानीय प्रमुखलाई अतिथिकोरूपमा निमन्त्रणा गरिएको थियो। सभामा पास्टर मिनीकुमार राई वक्ता हुनुहुन्थ्यो। पास्टर साइमन गुरूको संयोजक्त्वमा कार्यक्रम सम्पन्न भएको थियो। बुढानिलकण्ठ क्षेत्रका केही चर्चहरूले भने आआफ्नै चर्चमा कार्यक्रम राखेका थिए।

यसपटक राजधानीका केही ठुला चर्चहरू नेपाली ईसाइ मण्डलीमा आआफ्नो स्थानमा कार्यक्रम राखेका थिए । बेथशालोम पुतलीसडक चर्चहरूले पनि आआफ्नै क्षेत्रका चर्चहरूमा पुनरुत्थान महोत्सव मनाएका छन्। राजधानीमा भएका एजी चर्चहरु, बप्‍तिस चर्चहरू, केहि मेथोडिस्ट चर्चहरू र प्रेसबिटेरियन चर्चहरूले पनि आआफ्नै चर्चहरूमा पुनरूत्थान महोत्सव मनाएका छन्।

केहि साल अगाडिसम्म राजधानीमा उपत्यका (ललितपुर, भक्तपुर र काठमाडौं) का चर्चहरूको संयुक्त भेला हुने गरेको थियो। केहि वर्षपछि भक्तपुरबाट आउनेलाई टाढा हुनेभएकोले भक्तपुरको भक्तपुर मै ललितपुर र काठमाडौंको संयुक्तरूपमा हुने गरेको थियो। यसपटक वि सं २०७४ मा राजधानीका ठुला चर्चहरूले छुट्टाछुट्टै आ आफ्ना चर्चहरूमा र कति चर्चहरू मिलेर संयुक्तरुपमा आयोजना गरी पुनरूत्थान वर्ष मनाएका छन्।  यसपटकको इष्टर  महोत्र्‍सवमा सबै एकैठाउँमा गरेको भए राम्रै  नै हुनेथियो तर नगरेर झनै राम्रो जस्तो लाग्यो । सबै चर्चको आएको भए खुलामञ्‍चमा अटाउने पनि थिएन। खुलामञ्‍चको साइज पनि सानो भयो। अर्को सालसम्म त एउटा ठुलो चर्चको विश्वासीहरूले भरिन्छ। परमेश्वरले एकठाउँबाट मात्रै हैन धेरै ठाउँबाट पुनरूत्थानको घोषणा गर्न समय  र मौका दिनुभयो। अझ यसरी टोल टोलबाट, सहर सहरबाट येशूको पुनरुत्थानको घोषणा हुनुपर्छ। जे गर्नुभयो प्रभुले असल गर्नुभयो। सबै धन्यवादी होऔं।

 

Facebook Comments