बिज्ञान तथा प्रविधिको युगमा पनि धर्म परिवर्तनलाई दण्डनीय बनाउनु हास्यस्पद

सर्जु रिजाल, ख्रीष्टियन स्नातक संगति (Christian Graduate Fellowship)को विशेष संगति NBCBS को कार्यलायमा सम्नपन्न भएको छ। संगतिले फौजदारी कसुर सम्बन्धि प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७१ को परिच्छेद ९ को धर्म सम्बन्धिको कसुर शिर्षक अन्तर्गत १५६ दफामा धेरै विचार गर्दै विधयान समिति, व्यवस्थापिका संसदलाई केही टिप्पणी र सुझाव दिने निर्णय गरेको छ। स्‍नातक संगतिले अहिलेका युवाहरूलाई अझै पनि प्राचिन अवस्थामा नै राज्यले राख्न खोजेको ठहर CGF ले गरेको छ। बिज्ञान तथा प्रविधिको युगमा पनि राज्यले धर्म सम्बन्धिको विषयमा व्यक्तिगत अधिकारमाथि रोकटोक लगाउनु भनेको हास्यपद भएको टिप्पणी गरेको छ। संगतिमा विभिन्न क्षेत्रमा कार्यरत अनुभवी र  जिम्मेवार व्यक्तिको सहभागिता रहेको थियो। अहिले बन्दै गरेको कानुनले सनातन धर्मभन्दा अरू धर्म रोज्नुहुँदैन भन्ने सन्देश दिएको ठहर छ। हरेक व्यक्तिको लागि धार्मिक स्वतन्त्रता हुनुपर्छ भन्ने संयुक्त आवाज उठाएको छ।

हाल फौजदारी कसुर सम्बन्धि प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७१ को परिच्छेद ९, धर्म सम्बन्धि कसूर अन्तर्गत दफा १५६ मा धर्म परिवर्तनलाई दण्डनीय बनाइने व्यहोरामा यसरी उल्‍लेख गरिएको छ: १५६. धर्म परिवर्तन गराउन नहुनेः (१) कसैले कसैको धर्म परिवर्तन गराउन वा सो कुराको उद्योग गर्न वा दुरुत्साहन दिन हुँदैन। (२) कसैले कुनै, जात, जाति वा सम्प्रदायमा सनातन देखि चलिआएको धर्म, मत वा आस्थामा खलल पार्ने कुनै काम वा व्यवहार गर्न वा खलल हुने गरी कुनै प्रलोभन देखाई वा नदेखाई अन्य कुनै धर्ममा परिवर्तन गराउन वा अन्य कुनै नियतले त्यस्तो धर्म वा मत प्रचार गर्न हुँदैन। (३) उपदफा (१) वा (२) बमोजिमको कसूर गर्ने व्यक्तिलाई पाँच वर्षम कैद र पचास हजार रुपैयाँसम्म जरिबाना हुनेछ। (४) उपदफा (१) वा (२) बमोजिमको कसूर गर्ने व्यक्ति विदेशी रहेछ भने त्यस्तो व्यक्तिलाई यस दफा बमोजिम भएको कैद भुक्तान गरेको सात दिनभित्र नेपाल बाहिर पठाउनु पर्नेछ।

यदि कानुन जस्ताकोतस्तै पारित भएमा धर्म छनौट गर्ने व्यक्ति अपराधि ठहरिनेछ अर्थात कानुन अनुसार सजाय भोग्नुपर्नेछ। नेपालीमा एउटा उखान छ, “खाए खा नखाए घिच” भने झै यस कानुनले व्यक्तिगत धार्मिक स्वतन्त्रतामा बन्देज बनाएको छ। सनातन धर्मलाई मात्रै यति जोड किन? यसको पछाडिको सत्यता चित्त बुझ्दो तरिकाले जनतालाई दिनु आवश्यक छ। उक्त कसुरले हाम्रा देशका कानुनविद र राजनीतिज्ञहरूको सोचाइमा गरिबी छ भन्ने बुझाइ हुनेछ। यदि बाहिरको दबावले धर्म परिवर्तन गर्नुलाई दण्डनीय बनाइदै छ भने सार्वभौम नेपालका हामी स्वावलम्बी नेपाली भनेर कसरी भन्ने? प्रस्तावित कानुन विधेयकप्रति ख्रीष्टियन समूदायले आपत्तिजनाएको छ। मानव अधिकार भएको नेपाल जस्तो राष्ट्रमा व्यक्तिको छनौटलाई मान्यता दिनुपर्छ। अपराधी जो कोहीलाई पनि छुट दिनु हुँदैन धर्म, क्षेत्र, भाषा र राजनीति दलका सम्बन्धमा सबैलाई कानुन अनुसार कारवाही गर्नु पर्छ। तर धर्म छनौटको  विषयमा आफ्नो इच्छा अनुसार परिवर्तन गर्दा अपराधि बनाएर सजाय दिनुले राज्यको न्याय गर्ने तरिका निकै कमजोर मानिने संभावना रहेको कुरा CGF को बैठकले ठहर गरेको छ।

माथिको धर्म सम्बन्धिको कसूरको विषयलाई नेपालका नागरिकको हैसियतले ख्रीष्टियन स्‍नातक संगति (CGF) ले गम्भिर भएर यो विषयमा छलफल गर्नुका साथै केही सुझाव र टिप्पणी पनि उठाएको छ। वैठकमा उठाइएका बुँदाहरूमा ख्रीष्टियनहरूले वा समूदायले आफ्नो बनाइ वा थप विचार राखेर विधयान समिति, व्यवस्थापिका संसद सचिवालयमा पठाउन सक्नुहुनेछ। यसको लागि निम्म बुँदाहरू ध्यान दिएर पढ्नुहोला  कृपया यहाँ भएका बुँदाहरूलाई कपि गरेर जानकारीको लागि धेरै भन्दा धेरै शेयर गर्नसक्नुहुनेछ। आफ्नो राय तजा सुझाव पनि चैत्र मसान्त भित्र दिन सक्नुहुनेछ।

Christian Graduate Fellowship बाट उठेका केही बुँदाहरू यहाँ राखिएको छ:

1. इश्वर, समाज, परिवार र अग्नी साक्षी राखेर आफुले अपनाएको जीवन संगीलाई त विचार र व्यवहार नमिलेको खण्डमा सम्बन्ध विच्छेद गर्न सकिन्छ भने, आफूले मानि आएको धर्म, मत र आश्था त्यागेर अरु कुनै मत अपनाउन किन नमिल्ने?

2. के हाम्रो हिन्दू सनातन धर्म यति कमजोर छ, के हामी नयाँ धार्मीक मतको सामना गर्नै सक्दैनौ? र त्यसबाट डराएर बन्देज लगाउन खोज्छौ?

3. हामी सनातन मतावलम्बीहरू पनि आफ्ना कमि कमजोरीहरू छुवाछुत, उच्‍च निच, दाइजो, छाउपडी प्रथा, बोक्सीको नाममा मानिसको अपमान गर्ने आदि कुरा हटाएर हाम्रो मतलाई अझ बढी मानवतावादी समसामयीक र प्रगतिसील बनाउन पर्छ न कि मान्‍न र छान्‍न पाउने हुनुपर्छ।

4. नेपालमा सन्तोष पन्तका छोराले लिङ्ग परिवर्तन गरेर स्त्री बनेको कुरा सबैलाई जानकारी नै छ। नेपालमा लिङ्‍ग परिवर्तन गर्न पाइने धर्म वा आश्था किन परिवर्तन गर्न नपाईने?

5. गैर हिन्दूहरू नेपालका मठ मन्दिरमा गएर घण्टी बजाउन हुने, टीका लगाएर बस्‍न सकिने सम्पूर्ण हिन्दू धर्म संस्कार अभ्यास अपनाउन सक्छन भने, किन इसाईहरूलाईमात्रै सुनियोजित तरिकाले अभ्यास गर्न बन्देज गराउने??

6. धर्म र आश्थाको स्वतन्त्रता मानव अधिकारको आधारभूत जग हो यसलाई कुन्ठित गर्नु भनेको प्रजातन्त्त्रलाई भत्काउनु हो।

7. एउटा व्यक्तिले राजनैतिक दलहरू छान्न पाउने जस्तै काँग्रेस, एमाले, एमाओवादी, राप्रपा छोड्न पाउने रोज्न पाउने, नयाँ शक्तिमा जान पाउने तर धार्मिक स्वतन्त्रताको हकमा किन इसाईहरूलाई दण्डनिय ??

8. आफूलाई राम्रो लागेको सामान वा वस्तु राम्रो छ भनि किन भन्न नपाउने? जस्तै मैले लगाएको सट साथीलाई राम्रो छ भनि किन भन्न नपाउने?

9. यो धर्मको कुरा मात्र हैन वैचारिक स्वतन्त्रतामाथिको प्रहार हो । नेपाललाई मध्य यूगिन समयमा धकेल्ने प्रयास गरेको देखिन्छन्।

10. सनातन धर्मलाई जोगाउन कसैले आफ्नो बाग स्वतन्त्रता त्याग्नुपर्ने? यस्तो निरंकुश व्यवस्था कदापि टिक्ने छैन।

11. कस्तो सनातन धर्म हो जस्ले आफूलाई बचाउन सक्दैन जसलाई बचाउनको लागि व्यक्तिको स्वविवेकमा बन्देज लगाउनुपर्ने। यो अन्याय सहन सकिने छैन्।

12. कुनै समयमा तपाई मन्त्रीहरू, सभासदहरू, आफ्नो आश्थाको कारण बन्दी बनाइनुभएको थियो। आज तपाइहरूले आफ्नो आश्था मत प्रचार प्रसार गर्ने व्यक्तिहरूलाई आफ्नो आश्थाको कारण कसरी बन्दि बनाउने कानुन ल्याउनुहुन्छ? यदि यो कानून विधेयक पास भएमा देशलाई अन्धारतर्फ धकेल्ने आत्मघाती निर्णय हुनेछ।

13. मोदीलाई खुसी पार्न ल्याइएको यो मानव र वैचारिक स्वतन्त्रता विरोधि प्रावधान हो। स्मरण रहोस भारतमा पनि स्वतन्त्रता पक्षधर नागरिकहररू मोदी जस्ता कट्टरपन्थीहरूभन्दा ज्यादै ठूलो संख्यामा छन्।

14. धर्म र आश्था सम्बन्धि वैचारिक स्वतन्त्रता र बागस्वतन्त्रता हनन गर्नु संविधान सम्मत हुनैसक्दैन।

15. सनातन धर्मको रक्षा कसैको विचारको स्वतन्त्रता र आफूलाई लागेको कुरा बताउन वा बोल्न पाउन पर्ने अधिकार विर्को लगाएर हुँदैन र सक्ने हो भने त्यसलाई पनि परिमार्जन गर्दै जानुपर्छ। तर त्यसको लागि पनि धर्मसम्बन्धि आफ्नो विचार बोल्न पाउनपर्ने नै हुन्छ।

16. धर्म परिवर्तनलाई दण्डनिय विधेयक ल्याएर सनातन धर्म हुन्छ भन्ने के आधार छ?

17. धर्म र आश्था अभ्यास गर्ने एउटा नागरिकको नितान्त निजी मामला हो।

18. भोलि आएर यही प्रावधान भ्रष्टाचारी र कट्टर पन्थीहरूले दुरूपयोग गरेर नेपाललाई विश्व सामु नफैलाउलान भन्न सकिदैन।

19. आश्था मान्ने र छाडन पाउने अधिकार व्यक्तिको मौलिक अधिकार हो यसलाई राज्यले कुन्ठित गर्नु हुदैन।

20. लोकतन्त्रमा शासकहरूले नागरिकको सम्मान गर्न सिक्नुपर्दछ। कुन आश्था वा धर्म मान्ने सम्बन्धि विचार गर्ने वा बोल्ने काममा रोक लगाउनु निरंकुसताको परकाष्ठा हो।

21. सनातन धर्म अरू मुलुकमा पनि फैलिनु पर्छ कि पर्दैन यदि पर्छ भने यो विधेयक प्रत्युतपादक हुनेछ।

22. भ्रष्टचारी नेताले मात्र धर्मलाई राजनैतिक एजेन्डा बनाउन चाहन्छ तर राज्यले व्यक्तिको निर्णयलाई बन्देज लगाउन हुँदैन हरेक व्यक्तिलाई आफ्नो आस्था अनुसार छान्न पाउनुपर्छ।

23. सनातन धर्मको आधारमा मन्त्री बन्ने खेल खेल्ने हो भने यो असफल खेल मात्र हो।

24. आफ्नो आस्था अनुसारको धर्म मान्नु, छोड्नु वा परिवर्तन गर्न पाउनु नितान्त ब्यक्तिगत मौलिक अधिकार हो। यसलाई राज्यल नियन्त्रण गर्न हुँदैन। लोकतन्त्रमा ब्यक्तिगत बिचारको सम्मान हुनुपर्छ। कुनै व्यक्ति बुद्धिष्ट, हिन्दू, बनोस वा ख्रीष्टियन बुद्धिष्ट, हिन्दु बनोस अथवा जैन, वा मुस्लिम ख्रीष्टियन बनोस सबै विचार सम्मानित हुनुपर्छ त्यो पो धार्मिक स्वतन्त्रता हो। देशलाई मध्ययुगमा नफर्काउँ।

25. समाज परिवर्तनशिल छ अहिलेसम्म संसारको जुनसुकै मुलकमा परिवर्तन ल्याउने काम धार्मिक र सामाजिक आन्दोलनले गरेका छन्। त्यसकारण धार्मिक विचारहरूलाई बन्देज गर्नुहुँदैन।

राय सुझाव पठाउने ठेगाना:
इमेल: bidhayansamiti@gmail.com
फ्याक्स: ०१-४२००१७२
हुलाक: विधायन समिति, व्यवस्थापिका संसद सचिवालय,
पोष्ट बक्स नं.: २००९९, सिंहदरवार, काठमाण्डौ

Facebook Comments